फत्तेपुर/ मधेस प्रदेश मिडिया काउन्सिलले मङ्सिर ४ गते हुने निर्वाचनका कुनैपनि उम्मेदवारको पक्ष वा विपक्षमा समाचार सम्प्रेषण नगर्न संचारमाध्यमलाई अपिल गरेको छ । मधेश प्रदेश मिडिया काउन्सिलका सदस्य सचिव मुनेश्वर यादवले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि दल वा उम्मेदवारहरुको पक्ष वा विपक्षमा समाचार सम्प्रेषण नगर्न संचारमाध्यमलाई सचेत गराएको छ ।
मिडिया काउन्सिलका सदस्य सचिव यादवद्वारा जारी प्रेस विज्ञप्तिमा मङ्सिर ४ गतेहुने निर्वाचनलाई प्रभाव पार्ने तथ्यहिन आधारहीन समाचार सम्प्रेषण नगर्न अपिल गरिएको छ । निर्वाचनको समयमा राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन तथ्यलाई लिएर आरोपप्रत्यारोप दुष्प्रचार र चरीत्र हत्या हुने किसिमले सामाग्री सम्प्रेषणका घटनाहरु हुन सक्छन्, विज्ञप्तिमा भनिएको छ, कुनै राजनैतिक दलका नेताहरुबाट अर्को राजनैतिक दल वा नेताहरुका विरुद्ध घृणास्पद अभिव्यक्तिहरु आउन सक्छन्, विज्ञप्तिमा अगाडि भनिएको छ, त्यसैले संचारमाध्यमलाई गलत समाचार दुष्प्रचार र घृणात्मक अभिव्यक्तिहरु लगायतका सामाग्रीहरुको तथ्यगत बुझ्न त्यस्ता अभिव्यक्ति नदिन र कसैको पक्ष वा विपक्षमा समाचार सम्प्रेषण नगर्न तथा कसैको चरित्र हत्या हुने खालको सामाग्री सम्प्रेषण नगर्न संचारमाध्यमलाई अपिल गरिएको छ।
संचारमाध्यहरुले कुनै पनि राजनीतिक दल वा उम्मेदवारलाई मत आह्वान गर्ने, प्रचारप्रसारलाई प्रश्रय दिने पक्ष वा विपक्षमा सन्देश सूचना प्रवाह गर्न आचारसंहिता विपरीत ठहरिने काउन्सिलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । संचार माध्यम, पत्रकार एवम् पत्रकारितासँग सम्बन्धित संस्थाबाट यस प्रकारका गतिविधि नगर्न नगराउन अपिल गरिन्छ, सदस्य सचिव यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, मतादाता शिक्षा एवम् निर्वाचनसँग सम्बन्धित समाचार सामाग्रीहरु प्रथामिकतामा सम्प्रेषण गर्न मिडिया काउन्सिल सम्बन्धित संचारमाध्यम पत्रकार, संचारकर्मी सामाजिक संजाल प्रयोग कर्ताहरुलाई अनुरोध गरिएको छ ।

Facebook Comments Box