सप्तकोशी, मंसिर १६ गते । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सप्तरीमा १ सय ३८ उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ ।
मतपेटिकामा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका विभिन्न पार्टी तथा स्वतन्त्र गरि १ सय ७६ उमेदवार रहेकोमा प्रतिनिधिसभातर्फका ५८ र प्रदेशसभातर्फका ८० गरी कुल १३८ उम्मेदवारको जमानत जफत भएको हो ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा १७, क्षेत्र नम्बर २ बाट १३, ३ बाट १५ र क्षेत्र नम्बर ४ बाट १३ जना गरी ५८ जना प्रतिनिधिसभा सदस्यका उमेदवारको जमानत जफत भएको हो ।
त्यस्तै, प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नम्बर १(क) मा ८ र (ख) मा ७, क्षेत्र नम्बर २ को (क) मा १४, (ख) मा ११, क्षेत्र नम्बर ३ को (क) मा १५ र (ख) मा ८, क्षेत्र नम्बर ४ को (क) मा ९, (ख) मा ८ उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
प्रदेशका ८ र प्रतिनिधिसभाका चारसहित ३८ जना उम्मेदवारले मात्रै जमानत जोगाउन सफल भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सप्तरीमा प्रतिनिधिसभातर्फ कुल खसेको २ लाख ७९ हजार १२१ मत मध्ये २ लाख ६२ हजार ८१ मत सदर रहेको थियो ।

Ad
Facebook Comments Box