सप्तकोशी, १८ भदौ । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित स्वतन्त्र सांसद अनिरुद्ध कुमार सिंह यादव हत्या अभियोगमा पक्राउ परेका छन् ।
हत्या आरोपमा १६ वर्षदेखि फरार सूचिमा रहेका मधेस प्रदेशसभा सदस्यमा सप्तरीबाट निर्वाचित बोदे बरसाइन नगरपालिका ५ का अनिरुद्धकुमारलाई प्रहरीले राजविराजबाट सोमबार नियन्त्रणमा लिएको हो।
नेकपा माओवादीका नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६८ चैत १९ गते मुल्तबीमा राखिएको मुद्दामा यादवसमेत ९ जना आरोपी छन्। पक्राउ परेका प्रदेशसभा सदस्य यादवलाई सप्तरी जिल्ला अदालतमा सोमबार नै पेश गरिएको छ।
जनता समाजवादी पार्टीका विद्रोही उम्मेदवार बनेर स्वतन्त्र उम्मेदवार बनेका यादवले जसपाका अभिषेक यादवलाई २ हजार ६५ मतले पराजित गरेर निर्वाचित भएका थिए।
शम्भुनाथ नगरपालिका १ खोक्सर प्रवाहाका ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको २०६४ असार ९ गते बोदे बरसाइन नगरपालिका २ नेङ्गडा बैरिया टोलमा अपहरणपश्चात गोली हानी हत्या गरिएको थियो।
जिल्ला प्रहरी कार्यालयको रकेर्डमा उनी ०६४ असार १४ गतेदेखि नै फरारको सूचिमा थिए । अदालतमा अभियोगपत्र दायर भए पनि यादव अदालतमा उपस्थित नभएर फरार रहेका थिए।

Facebook Comments Box