उत्तम आचार्य
कञ्चनरुप, २२ असोज । सप्तरीको कञ्चनरुप नगरपालिकाका कर्मचारीहरुले स्थानीय तह कर्मचारी केन्द्रीय सघर्ष समितिलले आव्हान गरेको आन्दोलनमा एक्यबद्धता जनाउँदै पेनडाउन गरेका छन।
सोमबार नगर स्तरीय संघर्ष समिति कञ्चनरुप नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्ति प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम घिमिरेलाई बुझाउँदै नगर स्तरीय संघर्ष समितिले पेनडाउन गर्दै उक्त आन्दोलनमा ऐक्यबद्धता जनाएको हो ।
नगरपालिकाले सोमबार पेनडाउन गरेको तथा मंगलबारबाट अत्यावश्यक कामबाहेक अन्य सबै सेवाहरुमा अनिश्चिितकालिन पेनडाउन गरिने नगर स्तरीय संघर्ष समितिले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
स्थानीय तहलाई ऐन विहिनताको अबस्थामा राख्न नपाइने जनाउँदै निजामती सेवा विधेयक हालसम्म संसदमा पेश नभएको र सरोकारवाला समक्ष आधिकारिक मस्यौदासमेत नपुगेको अवस्थाले स्थानीय तहको कर्मचारीमाथि थप अन्योलताका परिस्थिति सिर्जना भएको भन्दै स्थानीय तह केन्द्रीय संघर्ष समितिबाट सम्पूर्ण स्थानीयतहरुको विभिन्न २० सुत्रीय माग राख्दै विभिन्न दवाव मुलक कार्यक्रम निधारण गरिएको विज्ञप्तिमा उल्लेख छ ।
संघिय सरकार मन्त्री परिषदको बैठकले संघिय निजामती सेवा विधेयक २०८० पारित गरि संघिय संसदमा पेश गर्ने निर्णय गरेकोले उक्त विधेयकमा स्थानीय सेवाका कर्मचारीहरुले सेवा सुरक्षा ,वृत्ति विकास लगायतका विषयमा स्पष्टता नभएकोले अनिश्चितकालिन पेन डाउन गरेको कर्मचारी संघर्ष समितिका एक सदस्यले जनाएका छन् । कञ्चनरुप नगरपालिकामा कार्यरत कर्मचारीहरुले शशिकान्त चौधरीको नेतृत्वमा १६ सदस्यीय संघर्ष समिति चयन गरि आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनरत कर्मचारीहरुद्वारा बाध्यताले आन्दोलन रोज्नपरेको भन्दै यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति विज्ञप्तिमार्फत क्षमा याचना समेत मागिएको छ ।

Facebook Comments Box