उत्सव आचार्य ,कञ्चनरुप/सप्तरीको राजविराजमा १५ दिने सप्तरी सांस्कृतिक, पर्यटन, कृषि, व्यापारिक महोत्सव आइतबारदेखि सुरू भएको छ । सप्तरी युथ नेपालको आयोजनामा राजविराज नगरपालिका वडा नम्बर ७ स्थित राज रंगाशाला मैदानमा बृहत् महोत्सवको आयोजना गरेको हो ।
महोत्सवको प्रमुख अतिथि राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परविणले व्यानर वाचन गरेर उद्घाटन गर्नुभएको छ ।
कार्तिक २७ गतेसम्म संचालन हुने महोत्सवमा विभिन्न स्थानीय उत्पादनहरुको उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले सञ्चालित महोत्सवमा ३० भन्दा बढी स्टलहरु राखिएको । दैनिक रुपमा चर्चित राष्ट्रिय कलाकारहरुद्वारा गीत तथा नृत्य प्रस्तुत हुने आयोजकले जनाएको छ ।
महोत्सवमा रोटेपिङ्ग, दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री, पर्यटन प्रवर्द्धनसम्बन्धी लगायतका आकर्षणका केन्द्र विभिन्न मनोरञ्जनका साधनहरु समेत रहेको मेला व्यवस्थापन समितिका संयोजक सत्येन्द्र यादवले जानकारी दिनुभयो ।
महोत्सवमा बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिनुका साथै मेलामा आउनेका लागि निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

Facebook Comments Box