आज आकाशमा उल्का बर्षा देखिने



काठमाण्डौ /आज पौष १९ गते राति आकाशमा उल्का वर्षा देखिने भएको छ ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार आज राति उल्का वर्षा देखिने भएको हो ।
बिगत केही दिनदेखि आकाशमा उल्का वर्षा भैरहेको छ, तर आज राति भने अत्यधिक मात्रामा उल्का वर्षा हुन लागेको जनाइएको छ ।
पौष १९ गते राति साढे ११ बजेदेखि भोलि २० गते बिहान घाम उदाउनु अघिसम्म नै उल्का वर्षा देख्न सकिने भट्टराईले बताए । उल्का बर्षालाइ नाङ्गो आँखाले नै अवलोकन गर्न सकिने भट्टराईको भनाइ छ । आगोका झिल्का जस्तै देखिने उल्का वर्षा करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिनेछन् ।
पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन्, यसलाई नै उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई तारा खसेको पनि भन्ने गरिन्छ ।

