उत्तम आचर्य, कंचनरुप/ सप्तरीको कञ्चनरूप नगरपालिका १२, रूपनगरमा रहेको नन्दराज संग्रौला क्याम्पस परिसरमा सार्बजनिक पुस्तकालय स्थापना हुने भएको छ।
अमेरिकाको टेक्सस निवासी विजयराज भट्टराईको सहयोगमा ‘सर्वोदय फाउण्डेसन नेपाल’ मार्फत् रूपनगरमा सार्वजनिक पुस्तकालय स्थापना गर्न लागिएको हो ।
नेपाली भाषा, साहित्य र संस्कृति नै प्रवासमा नेपालीको पहिचान हो भनेर टेक्ससमा नेपालीहरूद्वारा सञ्चालित नेपाली पाठशालालाई भट्टराईले ‘ग्लोबल नेपाली पाठशाला’ मा रूपान्तरण गर्नुभएको थियो । करिव ६ वर्ष उक्त पाठशालाको प्रिन्सिपलका रूपमा नेतृत्व गर्नुभएका विजयले टेक्ससका समाजसेवीहरूको सहयोगमा ‘सर्वोदय फाउण्डेसन नेपाल’ स्थापना गरी मानव सेवा गर्दै आउनु भएकोछ ।
सोही फाउण्डेसन मार्फत् रूपनगरमा पुस्तकालय स्थापना तथा सञ्चालनका लागि उहाँले झण्डै १३ लाख रूपिञा सहयोग गर्नुहुने जानकारी क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले दिनुभयो ।
अध्ययन, अनुसन्धान समाज विकासको जग हो भन्ने मान्यता राख्नुहुने भट्टराईले पुस्तकालय सञ्चालनका लागि दुई वर्षसम्म निरन्तर सहयोग समेत गर्नुहुने जानकारी प्राध्यापक गजुरेलले दिनुभयो । ‘रूपनगर सर्वौदय पुस्तकालय’ नाम रहने सो पुस्तकालय अपरान्ह ३ घण्टा सार्वजनिक उपयोगका लागि खोलिनेछ ।

विद्वान बुवा पं. डिल्लिराम भट्टराई तथा आमा हरिप्रिया भट्टराईका छोरा, इञ्जिनियर विजयको सहयोगमा स्थापना हुने सो पुस्तकालय सप्तरी जिल्लाकै एउटा नमूना ज्ञान केन्द्रका रूपमा रहने अपेक्षा कञ्चनरूप नगरपालिका तथा वरपरका वुद्धिजीवीहरूको छ । ‘अध्ययन अनुसन्धान गर्न चाहनेहरूका लागि स्रोतको अभाव रहेको सप्तरी जिल्लाको उत्तर पूर्वी यस भेगमा एउटा गहकिलो सार्वजनिक पुस्तकालय स्थापना हुनु आफैँमा महत्वपूर्ण रहेको स्थानीयहरुको भनाइ छ।भौतिक पुस्तकका साथै केही हजार इ-पुस्तक समेत राखिने पुस्तकालय विविध विषयमा अध्ययन अनुसन्धान गर्नेहरूका लागि गहकिलो स्रोत केन्द्र बन्ने अपेक्षा क्याम्पस सञ्चालक समितिका अध्यक्ष गिरिराज संग्रौलाको छ । उहाँ भन्नुहुन्छ, ‘पत्रपत्रिका, कम्प्यूटर, र इण्टरनेट समेतको सुबिधा उपलब्ध हुने पुस्तकालय रूपनगरमा मात्र होइन, सप्तरीको यो भेगकै लागि गौरव हुनेछ ।’

प्रयोगकर्ताका लागि पुस्तकालयमा सदस्यता प्रणाली लागू गरी पुस्तक घर लगेर पढ्न पाउने व्यवस्था समेत हुनेछ । तर सदस्य नबनेकाले पनि पुस्तकालय प्रयोग गर्न पाउने छन् ।

क्याम्पस सञ्चालक समिति सदस्य हेम प्रसाद अधिकारीका अनुसार पुस्तकालयका लागि फर्निचर बनाउने, पुस्तक सङ्कलन गर्ने लगायतका काम भैराखेको छ । नव वर्ष २०८१ को अवसरमा उद्घाटन गर्ने गरी काम भैराखेको जानकारी अधिकारीले दिनुभयो ।

Facebook Comments Box