सप्तकोसी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित ६ जना भ्रष्टाचारि ठहर



सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद दहाल सहित ३ जना कर्मचारी र ३ जना ठेकेदार लाइ विशेष अदालतले भ्रष्टाचारि ठहर गरेको छ।
विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद दाहाल, तत्कालीन इन्जिनियर सुदिप चौधरी र सव–इन्जिनियर रामकान्त चौधरी र ३ जना निर्माण कम्पनीका ठेकेदारलाइ दोषी ठहराएको हो। अदालतले राजेन्द्रप्रसाद, सुदीप र रामकान्तलाई जनही ४ लाख ९९ हजार, त्यतिनै जरिवाना र ३ महिना कैद ठहर गरेको छ । निर्माण कम्पनीका सञ्चालकहरु श्यामकान्त चौधरी, नारायणप्रसाद यादव, राजकुमार यादवलाई जनही ४ लाख ९८ हजार रुपैयाँ, जरिवाना र रकम बिगो असुलसमेत गर्नुपर्ने विशेष अदालतले ठहर गरेको छ। नगरपालिकाको १४ लाख ९७ हजार रुपैयाँ हिनामिना गरेको अख्तियारले दाबी गर्दै मुद्दा दर्ता गरेको थियो। दाहालसहित ६ जनाको मिलेमतोमा नगरपालिकाको रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ असार ३० मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । निमित्त कार्यकारी अधिकृत राजेन्द्रप्रसादले सार्वजनिक खरिद ऐन र नियमावली विपरीत कानूनी प्रकृया छली सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को प्रावधानको गलत व्याख्या गरी नगरपालिकाबाट गरिने कामलाई आफ्नै एकल बोर्डको निर्णय गरेको आरोप लागेको थियो। दाहालले आफै निर्णय गरी १५ लाखको बजेट लाइ ३ भाग लगाई कोटेशनमार्फत ३ वटा निर्माण व्यवसायीलाई दिएको र ३ वटै निर्माण व्यवसायीहरुले नगरपालिकासँग गरेको सम्झौताविपरीत लागत इष्टिमेट गरेको अख्तियारको दाबी थियो । सम्झौता अनुसार गुणस्तरहीन कार्य गरेको, नगरपालिकाका सवइन्जिनियर रामकान्त चौधरी र इन्जिनियर सुदिप चौधरीले लागत इष्टिमेट बमोजिम काम गरेको भन्दै झुठा प्रतिवेदन पेश गरेको आरोप लागेको थियो ।

