महाशिवरात्रिमा सप्तरीको शिवालयहरुमा श्रद्धालु भक्तजनहरुको भिड



उत्सव आचार्य /
कञ्चनरुप, २५ फागुन । महाशिवरात्रिका अवसरमा सप्तरीका विभिन्न शिव मन्दिर तथा प्रसिद्ध शिव धामहरूमा भगवान शिवको पूजाआजा तथा भजन कीर्तन गर्ने भक्तजनको भीड लागेको छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व भगवान शिवको पूजाआरधना एवं दर्शन गरी मनाइँदै छ ।
हिन्दुहरुको महान पर्व महाशिवरात्रीका अवसरमा सप्तरी जिल्लाको विभिन्न शिवलायहरुमा शुक्रबार बिहानैदेखि हिन्दु धर्मावलम्वी भक्तजनहरुको उल्लेख्य मात्रामा भिड लागेको हो ।
सप्तरीको कन्चनरुपमा रहेको धर्मेश्वर महादेव मन्दिर,सप्तकोसीको शिबालय मन्दिर हेडबान,रक्तमाला सामुदायिक बन परिसर,ओद्राहाको शिबालय मन्दिर, राजबिराजको हरिनन्देश्वर महादेव मन्दिर, शुम्भुनाथ महादेव मन्दिर, भजनेश्वर महादेव मन्दिर, त्रिमार्ग शिवालय मन्दिर, महादेवाका अंकुरी महादेव, विरेन्द्र बजारको शिव शनिधाम लगायत शिवालयहरुमा पूजाअर्चना गर्न बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड लागेको स्थानीयहरुले बताएका छन् ।
भक्तजनहरुको लागि स्थानीयबासीहरु तथा बिभिन्न संघसंस्थाले बेलपत्र, फुल लगायत पूजा सामाग्री ठाउँ–ठाउँमा निःशुल्क वितरण समेत गरेका छन् ।
मन्दिर परिसरमा भक्तजनले बिहानैदेखि नै महादेवको पूजा तथा भजन कीर्तन गरेका छन्।
यसैगरी राजबिराजको हरिनन्देश्वर महादेव मन्दिरमा पनि भक्तजनहरूको घुँइचो लागेको छ । सो अवसरमा हरिनन्देश्वर महादेव मन्दिर संरक्षण समितिले भक्तजनहरूका लागि पूजा गर्न स्वयंसेवक परिचालन गरी व्यवस्थापन मिलाएको समितिले जनाएको छ । उक्त अवसरमा विभिन्न संस्थाहरुले भक्तजनहरूलाई दूध, बेलपत्र, फूल, टीका प्रसाद वितरणको व्यवस्थापन मिलाएको छ । मन्दिर परिसरमा साधु सन्त तथा भक्तजनले भजन कीर्तन गरी शिव आराधना गरिरहेका छन् । मन्दिर बाहिरको बजारमा स्थानीय मेला समेत लागेको छ।
यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन् । आजको दिन रुद्रिपाठ गर्ने , लाखबत्ती बाल्ने र भव्यरुपमा मेला समेत लाग्ने गरेको पाइन्छ ।
त्यसैगरी जिल्लाकै शम्भुनाथ नगरपालिका स्थित रहेको शम्भुनाथ महादेव मन्दिरमा बिहानैदेखि भक्तजनहरुले पूजाआजा गरेका छन् । विभिन्न ध्वजापताकाले सिंगारिएको सो मन्दिरमा दर्शनका लागि सप्तरी, सिरहा तथा भारतको बिहार राज्यको सुपौल र मधुवनी जिल्ला लगायत शहरी तथा ग्रामिण क्षेत्रका धर्मालम्वीहरु बिहानैदेखि दर्शनका लागि सहभागि भएका छन् ।
त्यस्तै सप्तकोशी नगरपालिका फत्तेपुर स्थित शिवालय, कञ्चनरुप –६ बलुवा स्थित रहेको भजनेश्वर महादेव मन्दिर, कञ्चनरुप –८ स्थित रहेको शिवालय मन्दिर , कञ्चनरुप–१२ रुपनगर स्थित रहेको त्रिमार्ग शिवालय मन्दिर, राजविराज १ मा रहेको शिवालय मन्दिर, महादेवा गाउँपालिका स्थित शिवालय मन्दिर, हनुमाननगर कंकालिनी २ मा रहेको महादेव मन्दिर, पातोको डाकनेश्वरी मन्दिर, वभनगामाकट्टिको महादेव मन्दिरमा समेत बिहानैदेखि पूजापाठ गर्ने भक्तजनहरुको उल्लेख्य मात्रामा घुँइचो लागेको छ ।

