उत्तम आचार्य
कञ्चनरुप / नेपाल बैंक लिमिटेडमा नक्कली सुन धितो राखेर ४ करोड बढी रुपैयाँ ठगी गरेको आरोपमा कञ्चनरुपका टोकनाथ शाहलाइ काठमाण्डौंबाट प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको कन्चरुप नगरपालिका वडा न ८ घर भएका ४१ बर्षिय टोकनाथ शाहले नेपाल बैंक लि.कंचनपुर शाखाबाट ४ करोड १४ लाख ८४ हजार रुपैयाँ कर्जा लिएर फरार भएका साहलाई प्रहरीले काठमाडौंबाट सोमबार पक्राउ गरेको हो । काठमाण्डौं महानगरपालिका वडा नं ०६ वौद्ध स्थित हयात होटलबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
उच्च अदालत विराटनगरले नक्कली सुन राखेर कर्जा लिएको पाइएपछि साहलाई ९८ लाख ८५ हजार ५ सय ६४ रुपैयाँ बिगो सहित ३ वर्ष कैद सजाय तोकेको थियो । त्यसपछि उनी फरार थिए ।
साथै साहले विभिन्न व्यक्तिहरुलाई अमेरिका पठाउने भनी १ करोड ठगी गरेको समेत खुलासा भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयका सूचना अधिकारी प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिनुभयो ।
टोकनाथ साहले बेरोजगार युवा युवतीहरुलाई बिदेश पठाउने प्रलोभनमा पार्ने, आफ्नो जीवन शैली रवाफपुर्ण देखाउने, आफु अमेरिकाका सम्पूर्ण ठाउँ घुमे जसरी व्याख्या गर्ने, कोटा थोरै भएकोले पहिला जो आउँछ उही जान्छ भनी आफुलाई एकदम व्यस्त देखाउने र पिडितलाई प्रभावमा पारी ठगी गर्ने गरेको प्रहरीले लिएको बयानबाट खुलेको छ ।
प्रहरीका अनुसार साहले आफूलाई दिपक सोनी भनेर पनि चिनाउने र विभिन्न व्यक्तिलाई प्रयोग गर्ने, बिभिन्न कम्पनीका १५ (पन्ध्र) थान सिम प्रयोग गरेको खुल्न आएको छ ।
आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाण्डौं पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक रेग्मीले बताउनु भयो ।

Facebook Comments Box