कृषि,पशुपालन क्षेत्रमा उन्नत प्रविधिको प्रयोगले देशलाई समृद्ध बनाउन सकिन्छ: मन्त्री लेखि



जनकपुरधाम/मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले कृषि तथा पशुपालन क्षेत्रमा आएको उन्नत प्रविधिको प्रयोग गरेर प्रदेश तथा देशलाई समृद्ध बनाउन सकिने बताउनु भएको छ ।
कोशी प्रदेशको मोरङ्ग जिल्लाका कटहरी गाउँपालिकावाट कृषि अवलोकन भ्रमणका लागि भारतवाट फर्किएका प्रतिनिधि मण्डलसंग सोमबार मन्त्रालयमा भेटघाट गर्दै मन्त्री लेखीले सो कुरा बताउनु भएको हो । उहाँले कृषि अवलोकन भ्रमण वाट सिकेका नयाँ कुराहरु एक अर्कामा साटासाट गर्दा प्रदेश सहित देश भरिका किसानलाई नै फाईदा पुग्ने बताउनु भयो । उहाँले अन्तर प्रदेश भ्रमणले समेत आन्तरिक पर्यटन प्रबद्र्धनका साथै सकारात्मक सिकाईका अनुभव साटासाट हुने र यसले दुवै ठाउँको विकासमा मद्दत पुग्ने समेत बताउनु भयो ।
उक्त टोली सँग गृह,सञ्चार तथा कानून मन्त्री लेखीले चाडै कोशी प्रदेशमा भ्रमण गर्ने बताउदै कोशी प्रदेशमा भएका राम्रा अभ्यासहरु मधेश प्रदेशमा ल्याएर यस ठाउँको विकास गर्न चाहेको बताउनु भयो । मन्त्री लेखिले शिक्षा, पर्यटन तथा कृषि समृद्धिको आधार भएकाले मधेश प्रदेशले यी तीनै विषयलाई उच्च प्राथमिकतामा राखेको जानकारी समेत दिनु भयो । भेटको क्रममा कोशी प्रदेशको कटहरी गाउ पालिकाका अध्यक्ष देवराज चौधरीले आफूहरुले भारत सहित नेपालका विभिन्न भागहरुमा कृषि क्षेत्रमा भएको सकारात्म अभ्यासहरुको बारेमा अबलोन भ्रमण गरेर आफ्नो पालिकामा लागु गर्ने गरेको मन्त्री लेखीलाई जानकारी गराउनु भएको थियो ।
कटहरी गाउँपालिका वडा नंं ७ मा देशकै नमूना गाई फारम सञ्चालन गर्नु भएका गिरीराज वस्नेतले नेपालमा नै पहिलो पटक अटोमेटिक तरिकाले गाइ दुहिने तथा चारा हाल्ने प्रविधि जडान गरेर १ सय ५० उन्नत गाईको पालन गर्दै आएको मन्त्री लेखीलाई जानकारी गराउनु भयो । उहाँले १५ विघा क्षेत्रफलमा करिव २५ करोडको लागतमा निर्माण भएको सो गाई फारमले बाच्छी नै जन्मिने किसिमको सिमेन ल्याएर नश्लको सुधार गर्दै आएको र दैनिक रुपमा १ हजार ६ सय लिटर दुध उत्पादन गर्ने गरेको जानकारी मन्त्री लेखीलाई गराउनु भयो । टोलीमा रहेका प्रतिनिधीहरुलाई मन्त्री लेखीले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

