उत्सव आचार्य
कन्चनरुप /सप्तरीको कन्चरुप नगरपालिका रुपनगरमा रहेको नन्दराज संग्रौला क्याम्पसका छात्र-छात्राहरूलाई छात्रवृत्ति’ वितरण गरिएको छ । कञ्चनरूप नगरपालिका, वडा नम्बर १२ का वडा अध्यक्ष देवि बहादुर खत्रीको विशेष पहलमा नगरपालिकाले उपलब्ध गराएको एक लाख रुपैयाँ बराबरको रूपनगर नन्दराज संग्रौला क्याम्पसका जेहन्दार र बिपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति बितरण गरिएको क्याम्पस प्रमुख दीपक कुमार गजुरेलले जानकारी दिए। कञ्चनरूप नगरपालिका वडा न १२ का वडाध्यक्ष देवि बहादुर खत्रीले एक जना जेहेन्दार र पाँच जना विपन्न गरी छ जनालाई जनही १६ हजार ६ सय ६६ रुपैयाँका दरले छात्रवृत्ति रकमको चेक हस्तान्तरण गरे । क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले क्याम्पसको प्रगतिका लागि आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । ‘यो छात्रवृत्ति रकमलाई पढाइमा हौसलाका रूपमा लिएर सदुपयोग गर्नु’ भन्दै उहाँले विद्यार्थीहरूलाई लगनशील भएर अध्ययनमा लाग्न सुझाव दिए ।

छात्रवृत्तिका लागि विद्यार्थी छनौट गर्न क्याम्पसले, १. कक्षामा उपस्थिति नियमितता, २. लिखित परीक्षा, ३. अन्तरवार्ता, ४. अघिल्लो परीक्षाको प्राप्ताङ्क लगायत विभिन्न मापदण्डको प्रावधान राखेर ‘छात्रवृत्ति कार्यविधि’ निर्माण गरेको र सोही आधारमा छात्रवृत्तिको निर्णय हुने गरेको जानकारी क्याम्पस प्रमुख प्राध्यापक गजुरेलले दिए ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित, बिबिएस पढाइ हुने रूपनगर क्याम्पसका विद्यार्थीहरूले यस वर्ष देखि ५ (पाँच) वटा छात्रवृत्ति पाउने व्यवस्था भएको जानकारी प्रा. गजुरेलले दिनु भयो । उहाँका अनुसार ती छात्रवृत्तिमा, १. विश्वविद्यालय अनुदान आयोगले दिने छात्रवृत्ति, २. मधेश प्रदेश सरकारको ‘छोरी छात्रवृत्ति,’ ३. वडा अध्यक्ष छात्रवृत्ति, ४. राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति, र ५. क्याम्पसले आफ्नै स्रोतबाट दिने छात्रवृत्ति गरी वर्षेनी पाँच वटा छात्रवृत्ति रूपनगर क्याम्पसमा भर्ना हुने विद्यार्थीहरूलाई उपलब्ध हुनेछन् ।

विश्वविद्यालय अनुदान आयोगबाट दिइने छात्रवृत्ति यस वर्ष रूपनगर नन्दराज संग्रौला क्याम्पसका २२ जना विद्यार्थीले पाए भने मधेश प्रदेश सरकारले दिने ‘छोरी छात्रवृत्ति’ चार जनाले पाए ।

विश्वविद्यालय अनुदान आयोगको छात्रवृत्ति एक पटक पाउने विद्यार्थीले स्नातक पढुञ्ज्याल ४ वर्ष सम्म प्रत्येक वर्ष १५ हजार रूपिञा पाउने व्यवस्था छ ।

यसै गरी मधेश प्रदेश सरकारको छात्रवृत्तिको रकम वार्षिक २५ हजार रूपिञा छ ।

उपरोक्त दुबै छात्रवृत्ति सामुदायिक र आङ्गिक क्याम्पसमा पढ्ने विद्यार्थीले मात्र पाउने व्यवस्था रहेको जनाइएको छ ।

Facebook Comments Box