सर्लाहीमा पुर्वराज्यमन्त्रीको हत्या



सप्तकोसी /सर्लाहीको रतनपुरमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको आइतबार राति हत्या भएको छ। रायको घरमै धारिलो हतियार प्रयोग गरी उनको निर्मम हत्या गरिएको प्रहरीले जनाएको छ।रायको रगतले लतपतिएको शव देखेपछि स्थानीय बासिन्दाहरूले तुरुन्तै प्रहरीलाई खबर गरे। रायको साथमा रहेका रामउजैन रायका अनुसार, राति तीन जना अपरिचित व्यक्ति उनलाई भेट्न आएका थिए र उनीहरूसँगै सुतेका थिए। हत्यापश्चात उनीहरू फरार भएको रामउजैनले बताए।
प्रहरीले घटनास्थल नजिकैको बाँसघारीबाट उखु काट्ने घरेलु हतियार बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, यही हतियारले रायको हत्या गरिएको हुन सक्ने अनुमान गरिएको छ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला तथा प्रदेश प्रहरी कार्यालयका अधिकारीहरू घटनास्थलमा पुगेका थिए। प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको बताएका छन्। उनले भने, ‘गएराति टाउकोमा घरेलु हतियार प्रयोग गरेर पूर्वराज्यमन्त्री रायको हत्या भएको छ। अहिले केही भन्न सक्ने अवस्था छैन, हामी गहिरो अनुसन्धान गरिरहेका छौं।’
राय २०५४ सालमा सूर्यबहादुर थापाको प्रधानमन्त्रीकालमा भूमिसुधार राज्यमन्त्री बनेका थिए। राय राप्रपाका गत महाधिवेशनमा उपाध्यक्षको उम्मेदवारसमेत रहेका थिए।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले घटनाको सत्यतथ्य तत्काल पत्ता लगाउन सरकारसँग आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्लाहीका पुराना नेता, राप्रपाको संस्थापक र गत महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेदवार, पूर्वमन्त्री रामचन्द्र रायको आफ्नै निवासमा धारिलो हतियार प्रयोग गरी हत्या भएको सुनेर स्तब्ध भएको छु। निन्दनीय घटनाको सत्यतथ्य अविलम्ब जाँचबुझ गरि दोषी पत्ता लगाइयोस् र कडा कारबाही गरियोस्।’

