अस्ताउँदो सूर्यलाई अर्घ दिदै पूजाआराधना गरी छठ मनाइदै
सप्तकोसी/सप्तरीको सप्तकोसी नगरपालिका स्थित त्रियुगा नदि तथा सप्तरीको विभिन्न खोला, पोखरीहरुमा अस्ताउदो सुर्यको पुजाआराधाना गरि छठ पर्व मनाइन्दै छ । सप्तकोसी नगरपालिकाको त्रियुगा नदि किनारमा सदा झै यस बर्ष पनि छठ पुजा व्यवस्थापन समितिले विशेष तयारीका साथ त्रियुगा नदिमा छठ पुजा गरेको छ । छठ पुजाको विशेष दिन आज श्रद्धालुहरुले अस्ताउदो सुर्यलाई अर्घ दिदै छठ पुजाको सुरुवात भएकोछ भने भोली शुक्रबार विहान उदाउदो सुर्यलाई अर्घ दिदै छठ पुजाको समापन गरिने छ ।
त्रियुगा नदि किनारमा जान मुख्य प्रवेशद्वार निर्माण, झिलिमिली बत्ती, र घाट निर्माण गरि छ्ठ पुजा गरिएको छ ।
समबेशी रुपमा मनाउदै आएको छठ पुजामा हजारौको सख्यामा धर्मलम्बिहरुले पुजा आजा गर्नुका साथै हजारौं अवलोकनकर्ताले प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य राखिएको छठ पुजा व्यवस्थापन समितिका सदस्य रमनबाबु कर्णले जानकारी दिए। जिल्लाको विभिन्न नदि, खोला, पोखरी लगायतका स्थानमा छठ पुजा गर्ने चलन छ । मधेसी समुदायले विशेषगरी मनाउदै आएको यस पर्व पछिल्लो समय सबै समुदायले विशेष चाडको रुपमा मनाउदै आएका छन ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदी सहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथन बमोजिम सोही समय देखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराण अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेला देखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको हो ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्य माथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्यकिरणको चिकित्सा माथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचार समेत खोजिएको जानकारहरू बताउँछन् ।
साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सराप द्वारा कुष्ठरोग बाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रता बाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्ब सहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।
छ्ठ पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत बस्ने द्वारा कामना पूरा गराउने चलन छ । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने परिएको छ ।