यसपालिको दशैको टिकाको उत्तम साइत ११:५१ मा

फत्तेपुर/यसपालिको दशैको टिकाको उत्तम साइत असोज १९ गते ११ बजेर ५१मिनेटमा उत्तम रहेको छ। नेपाल पञ्चाङ निर्णायक समितिका अनुसार असोज १९ गते बिहान १० बजेर ३४ मिनेटमा देवी विसर्जन गरि ११ बजेर ५१ मिनेटमा टिका लगाउने उत्तम साइत रहेको जनाएको छ । असोज १९ गतेका दिन दिनभर नै टिका ग्रहणको लागि उपयुक्त साइत रहेको समितिले जनाएको छ । अहिले शुक्र पूर्वतिर भएकाले टीका लगाइदिने मान्छे पूर्वतिर फर्किने र लगाउने मान्छे पश्चिम फर्कनु उपयुक्त हुने ज्योतिषहरुले बताएका छन् । दैत्यका गुरु शुक्राचार्य भएकाले बिघ्न बाधा नपरोस् भनि शुुक्रलाई पछाडि पारेर टीका लगाउने प्रचलन छ । शुक्राचार्यले दैत्यको पक्षमा काम गर्ने विश्वासले विजयका बेला शुक्राचार्यको वेवास्ता गर्ने प्रचलन रहिआएको हो । यस्तै चन्द्रमालाई सम्मुख वा दाहिने पारेर पनि टीका लगाउन उपयुक्त मानिन्छ ।
विजयादशमी आफैँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ ।