उत्सव आचार्य
कञ्चनरूप, ०१ वैशाख । सौन्दर्य र आकर्षणको प्रतीक मानिने फूलमध्ये वर्षमा एक दिन मात्र फुल्ने दुर्लभ ‘सुनाखरी’ फूल कञ्चनरूपमा पुनः फुलेको छ। नयाँ वर्षको पहिलो दिन वैशाख १ गते बिहानै फुल्ने र साँझपख ओइलाएर जाने यो फूल स्थानीयवासीका लागि आश्चर्य र कौतुहलको विषय बन्ने गरेको छ।
सप्तरीको कञ्चनरूप नगरपालिका–९, रुपनगरस्थित नवराज पोखरेलको आँपको बगैंचामा रहेको रुखको हाँगामा विगत करिब २० वर्षदेखि प्रत्येक वर्ष यही दिन यो फूल फुल्दै आएको छ। फूल हेर्नका लागि टाढाटाढाबाट समेत सर्वसाधारणको भीड लाग्ने गर्दछ।
स्थानीय जनविश्वासअनुसार, इसाको छैठौं–सातौं शताब्दीदेखि फुल्दै आएको मानिने यो फूललाई वीरगाथाका नायक तथा दलित समुदायका कुलदेवता मानिने सहलेश राजाको जीवनसँग जोडेर हेर्ने गरिएको छ। यस कारण पनि फूलप्रति श्रद्धा र भक्तिभाव झल्किने गर्दछ।


स्थानीय शान्त अधिकारीका अनुसार, “हामीले अन्य ठाउँको मात्रै चर्चा गर्ने बानीले आफ्नै क्षेत्रको यस्ता महत्वपूर्ण पहिचान ओझेलमा परेका छन्।” उनले यस फूलको उचित प्रचार–प्रसार र संरक्षण आवश्यक रहेकोमा जोड दिए।
फूल फुल्ने स्थान नजिकै करिब १०० मिटर दक्षिण–पूर्वतर्फ विष्णु मन्दिर अवस्थित छ भने करिब ३ किलोमिटर पश्चिम–उत्तर कञ्चनरूप–१२ धारापानीमा रहेको सहलेश पिडिया पनि धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थलका रूपमा रहेको छ। उक्त स्थानमा रहेका तीनवटा ढुङ्गाका पिरासँग सम्बन्धित विभिन्न किंवदन्तीहरू पनि प्रचलित छन्।
स्थानीयका अनुसार, एक बाबाजीले तीमध्ये एक पिरा सार्ने प्रयास गर्दा बीचमै मृत्यु भएको र त्यसपछि पुनः अर्को पिरा प्रकट भएको विश्वास गरिन्छ। यी घटनाले उक्त क्षेत्र सहलेश राजाको वासस्थानसँग जोडिएको संकेत गर्ने उनीहरूको भनाइ छ।
विगतदेखि नै सुनाखरी फूल फुल्दै आए पनि पर्याप्त प्रचार–प्रसार र संरक्षणको अभावमा यसको पहिचान क्रमशः कमजोर बन्दै गएको स्थानीयको गुनासो छ। उनीहरूका अनुसार, यस क्षेत्रको समुचित विकास र संरक्षण गर्न सके मधेश प्रदेशकै एक नमूना धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ।

Facebook Comments Box