काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बस सेवा सुरु



काठमाडौं, १ वैशाख । काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बस सेवा सञ्चालनमा आएको छ । साझा यातायातले राति ८ बजेदेखि ११ बजेसम्म दुईवटा रुटमा सेवा सुरु गरेको हो ।
पूर्व–पश्चिम रुटअन्तर्गत एयरपोर्टदेखि थानकोटसम्म विभिन्न मुख्य स्थान हुँदै बस सञ्चालन हुनेछ भने उत्तर–दक्षिण रुटमा बुढानीलकण्ठदेखि लगनखेलसम्म सेवा उपलब्ध गराइनेछ । 
यस सेवाका लागि ७ वटा विद्युतीय बस प्रयोग गरिएको छ । सेवा सञ्चालनमा विभिन्न स्थानीय तहहरूको सहकार्य रहेको जनाइएको छ । यात्रु सुरक्षालाई ध्यानमा राख्दै बसमा सीसीटीभी जडान गरी केन्द्रीय रूपमा निगरानी गरिनेछ । साथै नगर प्रहरीसमेत परिचालन गरिने व्यवस्था गरिएको छ । यात्रुहरूले ‘साझा प्लस’ मोबाइल एपमार्फत बसको अवस्थिति समेत हेर्न सक्नेछन् ।
रात्रिकालीन सेवा हाल प्रारम्भिक चरणमा सुरु गरिएको हो । आगामी दिनमा यात्रुको मागअनुसार विस्तार गर्ने योजना रहेको साझा यातायात ले जनाएको छ ।





