बैधनाथ यादव, राजबिराज । सशस्त्र प्रहरीका असई सत्यनारायण यादवको हत्या प्रकरणको समाचार संकलनमा खटिएका सप्तरीका सञ्चारकर्मीहरुलाई आज साँझ सशस्त्र प्रहरीले अवरोध गरेको छ ।
गोरगामास्थित सशस्त्र प्रहरीको ६ नम्बर हेडक्ववाटरले समाचार संकलनमा पत्रकारलाई अवरोध गरेको हो ।

नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अधयक्ष श्रवण देवसहित कान्तिपुरका अवधेशकुमार झा, आरएन विश्वास, एभिन्यूजकर्मी, बैद्यनाथ यादव, सञ्चारकर्मीद्धय विद्यानन्द राम र सौरभ यादवलाई समाचार संकलनमा सशस्त्र प्रहरीले अवरोध गरेको हो ।
गोरगामास्थित सशस्त्र प्रहरीको हेडक्वाटरमा दरबन्दी भई बिओपी छिन्नमस्ता कार्यरत असई सत्यनारायण यादव गत असोज १८ गते देखि वेपता भएको थियो । दुई दिनपछि असोज २० गतेको उनको शव सिमावर्ती बिहारको जिरोगास्थित घोडदह खोलामा फेला परेको थियो ।
उक्त हत्याकाण्डमा सोही बिओपीमा कार्यरत सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीको संलग्नता रहेको समाचार सप्तरीका पत्रकारले लगातार प्रकाशन प्रशारण गर्न थालेपछि पत्रकारमाथि सशस्त्र प्रहरीको नजरिया नकारात्मक देखिएको हो । सोही प्रकरणमा आज सप्तरीका पत्रकारहरुले सशस्त्र प्रहरीको हेडक्वाटरको भिडियो लिन खोज्दा सशस्त्र प्रहरीले रोक लगाएको हो । पत्रकारले अनुमति लिएर हेडक्वाटर प्रवेशद्धारको मात्र भिडियो खिच्ने भन्दा पनि यही हत्याकाण्डकै सोधपुछकालागि केन्द्रीय हेडक्वाटर तानिएका गणका प्रमुख एसपी प्रदीप खडकाले ाथिको आदेशअनुसार खिच्न नमिल्ने भन्दै समाचार संकलनमा अवरोध गरेको हो ।
यस विषयमा सशस्त्र प्रहरीकाका प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले पत्रकारलाई भिडियो खिच्न नदिने कुनै नीति नभएपनि लगातार समाचार प्रशारण नगर्न पत्रकारलाई टेलिफोनमा आग्रह गरे ।
यता नेपाल पत्रकार महासंघ शाखा सप्तरीले समाचार संकलनमा सशस्त्र प्रहरीले पत्रकारलाई रोक लगाउनु भनेको प्रेस स्वतन्त्रतामाथि सोझै हस्तक्षेप भएको भन्दै सशस्त्र प्रहरीको उक्त कार्यको भत्सर्ना गरेको छ ।

महासंघका सचिव आरएन विश्वासले सशस्त्र प्रहरीलाई नेपालको संविधानभित्र रहेर पत्रकारलाई समाचार संकलनमा रोक लगाउन कुनै अधिकार नभएको प्रतिक्रिया दिए ।

Facebook Comments Box