बागी न्युज संवाददाता

धरान, फागुन २० । मानौँ, आवाज, विचार वा भाषणको धेरै प्रतिक्षा गरिएको कुनै चर्चित व्यक्ति, नेता अथवा मन्त्रीले भाषण गर्न शुरु ग¥यो । भाषणका क्रममा उसले जुन विषय उठान गरेको छ, त्यो विषयमा उसलाई राम्रै ज्ञान छ भने राम्रै बोल्छ । तर त्यो विषयमा उसलाई उति ज्ञान छैन अथवा अल्पज्ञान भने उसको भाषण लटरपटर हुन्छ । शब्द र शैलीहरु मिल्दैनन् । तर मास हेर्दा उ लोभिदै जान्छ र मच्ची मच्ची बोल्छ । बोल्दै जाँदा उसले अप्रासङ्गिक, आपत्तिजनक वा विवादास्पद कुराहरु पनि बोलिदिन्छ । अब उ विषयमा अल्पज्ञानी रहेछ भन्ने प्रष्ट हुन्छ । जबरजस्तीको नेता रहेछ भन्ने प्रष्ट हुन्छ । उसप्रति मान्छेको विश्वास कम हुँदै जान्छ । उसले विषयको भाष्य नबुझ्दा यस्तो भएको हो ।

म्युजिक भिडियो ‘पीर’ सार्वजनिक भएपछि प्रकाश सपुत पनि यस्तै सावित भएकाछन् । उनको करिब १६ मिनेटको प्रस्तुति हेर्दा समग्रमा उनले जनयुद्धको भाष्य नै नबुझेको स्पष्ट हुन्छ । उनले जे जति बुझेकाछन् सामान्य मानिसको बुझाइ अथवा चिया गफ बुझाइ वा बजारिया बुझाइ बुझेका रहेछन् जनयुद्धका बारे । जुन कुरामा उनको बुझाइ अस्पष्ट छ वा जुनमा उनमा अल्पज्ञान छ, त्यसैमा हात नहालेको भए हुन्थ्यो तर उनले यसैमा काम गरेर आफ्नो बुझाइको स्तर छर्लङ्ग देखाइदिएकाछन् । यसले गर्दा उनको कलाकार वा सर्जक हुनुको उचाइ धरमराएको पक्कै छ किनभने सर्जक वा कलाकार भनेको त्यस्तो जिम्मेवारी हो, जसले समाजलाई सत्य तथ्य बताउँछ, त्यही सत्यको आडमा समाजलाई मार्गनिर्देश गर्छ तर प्रकाश सपुतले त्यो जिम्मेवारी पुरा गर्नुको साटो समाजलाई दिग्भ्रमित पारेकाछन् । समाजलाई भ्रमित पार्नु सर्जकको गल्ती मात्र होइन, अपराध नै हो ।

जनयुद्ध भन्नुवित्तिकै हिंसात्मक हुने भई नै हाल्यो । हिंसात्मक भन्नु वित्तिकै त्यहाँ जनधनको क्षति त भई नै हाल्छ । क्षतिमा कसैको आफ्नै काखमा खेल्दै गरेको सन्तान प¥यो होला । कसैको भर्खर विहे गरेको जीवनसाथी । यी त सबै जनयुद्धका प्रभाव अथवा पछिल्ला कुरा हुन् । तर जनयुद्धको अघिल्लो कुरामा पनि ध्यान जानुप¥यो नि यसमा काम गर्ने भएपछि ।

जनयुद्धका बारे दुईटा कुरा महत्वपुर्ण देखिन्छ ः
पहिलो, जनयुद्ध किन शुरु हुनुप¥यो ? जब समाज प्रकाश सपुत जस्ता विश्वकर्माहरुलाई कामी भनेर जुत्तामुनि दलिरहने मनोविज्ञानमा बाँची नै रहने अवस्था आयो अथवा समाजमा परिवर्तन नहुने नै अवस्था भयो, जे जसो गर्दा पनि असमानताको जड उखेलिने अवस्था भएन, त्यसपछि हतियार उठाउनै प¥यो । जसरी किलामा बाँधेको विरालोलाई कुट्यो भने कुट्नेलाई सिधै चिथोर्छ, जनयुद्धको आवश्यकता त्यहाँ परेको हो । जनयुद्ध शुरु गर्ने सोँच महान किन छ भने कमसेकम उसले दलन वा असमानता स्विकार गरेन । अब लड्नैपर्छ भन्ने सोँच राख्यो ।

दोस्रो, जनयुद्धबाट के प्राप्त भयो ? अहिले प्रकाश सपुतहरुले विश्वकर्मा लेख्न छोडेर सपुत भन्दै गीत गाएर जसरी चर्चाको स्वच्छन्दतामा बाँचेका छन् नी, यो यही जनयुद्धको उपलब्धिबाट प्राप्त भएको अवसर हो । जनयुद्धले नेपाली जनताको आधारभूत सोँचमा परिवर्तन ल्याएको छ । महिला, दलित, सिमान्तकृत, अल्पसंख्यकलाई आफ्नो शक्ति, आवश्यकता र औचित्यको बोध गराएको छ । नेपाली जनतालाई आफ्नो उद्गम, स्वत्व र अधिकारबारे सचेतना ल्याएको छ । जनयुद्ध नभएको भए हामी अझै राजतन्त्रको ठालु र सामन्ती युगमा नै रहने थियौँ जसको परम्परा जिउ हजुरी गर्नेले मात्र फाइदा लिने हो । अथवा संस्कार नै जिउ हजुरीको हुने हो । जनयुद्धमा कसैलाई भौतिक, शारिरिक, आर्थिक, मानसिक क्षति भएको होला तर उहाँहरुको योगदान र त्यागले नै नेपाली समाजले कोल्टे फेरेको छ । अझै भनौँ, प्रकाश सपुतलाई आफुलाई मन नलागेको वा चित्त नबुझेको विषयलाई यसरी प्रस्तुत गर्न पाउने अधिकार पनि जनयुद्धले नै दिएको हो ।

कमसेकम यति कुरा त बुझेर बोल्नुप¥यो नि सर्जक वा कलाकारले । बजेट भयो, मौका पाइयो, समय भयो भन्दैमा संवेदनशील विषयलाई हल्का तरिकाले प्रस्तुत गरिदिने ? यसो गर्दा को हल्का भयो ?
प्रकाश सपुतले पनि आफ्नो कुरा राख्न पाउने अवसर जनयुद्धकै देन हो, राख्न पाउँछन्, गाएर, नाचेर, लेखेर, अभिनय गरेर वा कुनै पनि तरिकाले । तर आफ्नो कुरा राख्दा चुरो कुरा त बुझ्नुप¥यो नि । जनयुद्धका सम्बन्धमा आफ्नो मत राख्दा जनयुद्धको भाष्य त बुझ्नुपर्यो नि । चीज के हो, त्यो त बुझ्नुप¥यो नि । हुन सक्छ, प्रकाश सपुतकै परिवारमा जनयुद्धले नराम्रो क्षति गरेको होला, मानविय गुण भएकोले उनी यस गतिविधि प्रति सकारात्मक हुने कुरा भएन तर जुन क्षति भएको छ, त्यसको परिणाम के हुन पुग्यो भन्ने कुरा तिर किन सोँच जाँदैन ? चुरो कुरो खै बुझेको ?

जनयुद्धमा होमिएका लडाकु महिलाहरु नेतृत्वले ध्यान नदिएपछि वेश्यावृत्तिमा लागेको कुरा उनले देखाएकाछन् । के यो तथ्य हो ? उनले यो पुष्टी गर्न सक्छन् ? यो जनयुद्धको अपमान हो । जनयुद्धमा कुनैपनि पक्षबाट सहादत भएका र लडेका योद्धाहरुको बेइज्जत हो । नेपालको पछिल्लो परिवर्तनप्रतिको अविश्वास हो । जनयुद्धले ल्याएको परिवर्तनकै उपयोग गरेर लडीबुडी खेल्ने, नाम कमाउने अनि उपलब्धिको आधार त्यही जनयुद्धलाई मिस इन्टरप्रेट गर्ने ?

हुनसक्छ, कोही वेश्यावृत्तिमा पनि गए होलान्, कतिपय वैदेशिक रोजगारीमा पनि छन् । यी कतिपय व्यक्तिगत क्षमता, सुझबुझ, समझदारीका आधारमा पनि भएका हुनसक्छन् तर जनयुद्धकै कारण कोही वेश्यावृत्तिमा लागेको भन्ने हो भने त्यो सरासर दुर्नियत होइन र ? किनभने जनयुद्धको कारण के के भयो भन्ने कुरा विना पुर्वाग्रह खोज्ने हो भने त पहिलो कुरा त महिलाहरुलाई संघर्षमा बाँच्न सिकायो भन्ने हुन्छ नि त । अधिकारका लागि लड्न सिकायो भन्ने हुन्छ नि । अन्याय सहनु हुँदैन भन्ने सिकायो भन्ने हुन्छ नि । त्यत्रो जनयुद्ध लडेको लडाकु महिला अन्ततः वेश्यावृत्तिमा गएकै हो भने त जनयुद्धको विश्वविद्यालयमा केही सिक्न सकेन रहेछ, सिक्ने क्षमता राखेन रहेछ भनेर चैँ किन नबुझ्ने ? घोटेर पिलाउने कुरा त होइन बाँच्ने सिप अथवा ज्ञान भनेको त ।

प्रकाश सपुतले जे सिर्जना गरे, यो कुनै राजनैतिक विचारद्धारा प्रभावित भएर नियतवश सिर्जना गरेको देखिन्छ । किनभने यो सिधै राजनिति आकर्षित हुने विषय हो । जे होस, उनको यो सिर्जनकर्ममा सफा नियत कदापी देखिन्न । यो किन पनि भन्न सकिन्छ भने वेश्यावृत्तिमा जुन महिलालाई पात्र बनाइएको छ, तिनी आदीवासी जनजाति अनुहारकी महिला हुन् । यसको अर्थ जनयुद्धका कारण विल्लीवाठ भएर वेश्यावृत्तिमा लाग्न बाध्य महिला चैँ आदीवासी जनजाति हुन् भन्न खोजिएको हो ? वेश्यावृत्तिमा चैँ आदीवासी जनजाति महिला नै अघि लाग्छन् भन्ने देखाउन खोजको हो ? के हो नियत ? कि त उनले रातारात भाइरल हुन्छु भन्ने नियत राखेका छन् कि त वर्तमान राजनैतिक अवस्थामा कुनै दलबाट बन्द प्रशिक्षण पाएर त्यो दलको योजनालाई अर्को दलको विरुद्धमा सफल बनाउँदैछन् । त्यसैले उनको सिर्जना यथास्थितीमा प्रसारण हुनु हुँदैन । प्रकाश सपुतले यसलाई सच्याउनैपर्छ ।
………………………..

Facebook Comments Box