उत्सव आचार्य

कञ्चनरूप, २ कार्तिक । सप्तरीमा देउसी-भैलो राती ८ बजेसम्म मात्र खेल्न पाउने भएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले आइतबार एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले चाडपर्व लक्षित ५ बुँदे सुरक्षा नीति जारी गर्दै बेलुका ८ बजेसम्म मात्र देउसी-भैलो खेल्न पाइने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलद्वारा हस्ताक्षरित सूचनामा जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी, भैलो, नाचगान लगायतका साँस्कृतिक क्रियाकलाप वेलुकी ८ बजेसम्म खेल्नुपर्ने, कानुन विपरीत जुवा, तास,लङ्गगुरबुर्जा, खेल्ने/खेलाउने, भुइचम्पा, पट्का,आतिवाज जस्ता विपद जोखिम निम्त्याउने तथा बाताबरण प्रदुषण हुने विष्फोटक पदार्थको आयात, ओसारपसार विक्री वितरण तथा प्रयोग गर्ने जस्ता गर्नु नगराउनु हुन निर्देशन जारी गरेको छ ।

मादक पदार्थको सेवन गरी हो-हल्ला गर्ने एवम् झै-झगडा गरि शान्ति सु-व्यवस्था खल्वलाउने लगायतका गैर कानुनी गतिविधि नगर्नु हुन, पलाष्टिकजन्य फूलमालाको आयात निर्यात, विक्रि वितरण वा भण्डार नगर्नु नगराउनु हुन सूचनामा उल्लेख गरिएको छ ।

सूचना विपरीत कार्य गरिएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा जारी सूचनामा चेतावनी समेत दिइएको छ ।

Facebook Comments Box