उत्सव आचार्य

कञ्चनरूप, २५ कार्तिक । नेकपा एमाले कञ्चनरूप नगर कमिटीले मंगलबार कञ्चनरूपमा जनर्‍याली तथा कोणसभाको आयोजना गरेको छ ।

देशभरका पालिकामा एकैसाथ प्रदर्शन गर्ने एमालेको केन्द्रीय कार्यक्रम अन्तर्गत कञ्चनरूपमा र्‍याली निकालिएको हो ।

नगर कमिटीको नेतृत्वमा आयोजित र्‍याली कञ्चनरुप नगरपालिका वडा नम्बर ८ स्थित चाँदनी चौकमा भेला भई बजार परिक्रमा गर्दै बेरियर चौकमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई एमाले पोलिटब्युरो सदस्य एवम् सप्तरी जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल ,एमाले मधेश प्रदेश सदस्य तथा कञ्चनरूप नगरपालिकाका पूर्व नगर प्रमुख बसन्त कुमार मिश्र , आशरा चौधरी , नगर कमिटी अध्यक्ष बच्चुलाल चौधरीले सम्बोधन गर्नुभएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेता प्याकुरेलले जेनजी आन्दोलनमा भएको घुसपैठको छानविन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउनुपर्ने बताउनुभयो । आन्दोलनको समयमा घुसपैठ गरेर सार्वजनिक तथा व्यक्तिगत सम्पतिमा क्षति पुर्‍याउनेले उन्मुक्ति नपाउने उहाँको भनाई थियो । उहाँले विगठित प्रतिनिधिसभालाई पुनर्स्थापना गर्न समेत माग गर्नुभएको छ ।

उहाँले एमालेमाथि अहिले चौतर्फी घेराबन्दी गर्ने काम भइरहेको भन्दै त्यसविरुद्ध एमालेका नेताकार्यकर्ता जागरुक हुन जरुरी रहेको समेत बताउनुभयो ।

एमाले प्रदेश सदस्य बसन्त कुमार मिश्रले जेनजी आन्दोलनमा विद्यार्थीमाथि भएको गोली प्रहारको घटना, जेनजी आन्दोलनका नाममा देशको प्रशासनिक भवन, सार्वजनिक सम्पति र नेताका घर जलाउने घटनको छानविन गरिनुपर्ने बताउनुभयो । एमाले कञ्चनरूप नगर कमिटी अध्यक्ष चौधरीले कञ्चनरूपलाई एमालेमय बनाउने बताउनुभयो । संविधानको रक्षा र प्रतिनिधिसभा विगठनको विरोधमा र्‍याली निकालिएको हो ।

र्‍यालीमा नेकपा एमाले जिल्ला कमिटी सदस्यहरु हरिहर बस्नेत , दिपेन्द्र चौधरी , सविता न्यौपाने ,केदार खतिवडा, क्षेत्रीय संयोजक राजकुमार साह, नगर कमिटी सचिव केवल खत्री, युवा नेता संजय पासवान, शेखर वाग्ले , अभिषेक गुप्ता , विभिन्न वडामा निर्वाचित वडाध्यक्ष, १२ वटै वडाबाट एमालेको विभिन्न कमिटीमा रहेका अगुवा नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।

त्यसैगरी सप्तरीको सप्तकोसी नगरपालिकामा नेकपा एमालेको केन्द्रिय सदस्य राजकुमार लेखीको नेतृत्वमा जन प्रदर्शन र कोण सभाको आयोजना गरिएको छ ।

जस अन्तर्गत फत्तेपुर बजार परिक्रमा गर्दै कोण सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै नेता लेखीले देशीविदेशी तत्व र शक्तिको आडमा विघटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्नुभएको छ ।  उहाँले साना दलहरू हराउँदै जाने र एमाले नै जनताको आशा भएको बताउनुभयो  ।

उहाँले जिल्लास्तरीय जनसभामा पनि सहभागिता जनाउन पार्टीका नेता कार्यकर्तासहित आम जनसमुदायलाई आह्वान् गर्नुभएको छ ।

नेकपा एमालेका प्रदेश, जिल्ला ,नगर तथा वडा कमिटीका नेताकार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

जनप्रदर्शनमा हत्या, हिंसा, आतंक बन्द गर, शान्ति सुरक्षाको प्रत्याभूति गर, भदौ २३ र २४ गतेको आपराधिक घटनाको निष्पक्ष छानबिन गर, सामाजिक सद्भाव कायम गरौँ, संविधानको रक्षा गर, कानुनी राज्यको प्रत्याभूति गर, प्रतिनिधिसभा पुनः स्थापना गर लगायतका नारा प्रदर्शनका क्रममा लगाइएको थियो । साथै, यी नारा लेखिएका प्लेकार्डहरु पदर्शनका क्रममा सहभागीहरुले बोकेका थिए ।

नेकपा एमालेले संसद पुनर्स्थापनाको माग गर्दै मंगलबार देशभरि प्रदर्शन गरेको छ ।  एमालेको गत असोज ३१ गते सकिएको केन्द्रीय कमिटी बैठकले गरेको निर्णयअनुसार मंगलबार देशभरि प्रदर्शन गरेको हो ।

Facebook Comments Box