रुपनगरमा न्हु दँया भिन्तुना : स्वागत गरियो नेपाल सम्वत् ११४६ लाई

उत्सव आचार्य
कञ्चनरूप , ५ कार्तिक । सप्तरीको कञ्चनरूप नगरपालिका १२ स्थित रुपनगर (वस्तिपुर) मा बुधबार नेपाल संवत् (११४६ ) अर्थात न्हु :दया: भिन्तुना भव्यताको साथ मनाईएको छ । नेवा:सामाज रुपनगरको आयोजनामा झाकीसहित नगरपरिक्रमा तथा शुभकामना आदानप्रदान गरि न्हू:दया भिन्तुना अर्थात नेपाल संवत् ११४६ मनाईएको हो ।

नेवा:समाज रुपनगरका अध्यक्ष कौशल श्रेष्ठको अध्यक्षता तथा ज्येष्ठ नागरिक फडिन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै ज्येष्ठ नागरिक श्रेष्ठले नेवा:समुदायले प्रत्येक बर्ष न्हु दया भिन्तुना र नेपाल संवत् मनाउँदा नगर र नगरबासी तथा नेवा समुदायको गरिमा बढेको बताउनुभयो । संस्कृति संरक्षणमा नेवार समुदायले खेलेको भुमिका प्रशंसीय रहेको बताउँदै उहाँले सबैजातजातिले मनाउने पर्वको जगेर्नाका लागि कार्यक्रमले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका पूर्व अध्यक्ष एवम मधेश प्रदेश समिति सदस्य बृजमान तामाङले न्हु: दया भिन्तुना जस्ता साँस्कृतिक पर्व मनाउने परम्पराले देशमा भएको सबैजाती धर्म र समुदायको चाडपर्वको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै उहाँले कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
कञ्चनरुप नगरपालिका १२ बस्तीपुर स्थित नेवा:समाजको गुठी भवनमा आयोजित कार्यक्रममा नेवा: देय: दबूका केन्द्रीय सदस्य दक्ष नारायण श्रेष्ठ , जिल्ला अध्यक्ष अर्जुन कुमार श्रेष्ठ लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
नेवा:समाज रुपनगरका सल्लाहकार पेशल जोशीद्वारा संचालित कार्यक्रममा स्वागत नेवा: समाज रुपनगरका मदन श्रेष्ठले गर्नुभयो ।
उक्त अवसरमा ज्येष्ठ नागरिक ९८ बर्षिय सन्त लक्ष्मी श्रेष्ठ र लाखे नाँचका प्रशिक्षक तथा दर्जनौं कलाकारहरुलाई सम्मान गरिएको थियो । उनीहरुलाई नेवा: देय: दबूका केन्द्रीय सदस्य दक्ष नारायण श्रेष्ठ र जिल्ला अध्यक्ष अर्जुन कुमार श्रेष्ठले दोसल्ला, माला र प्रमाणपत्र प्रदानद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा नेवारी परम्परा भोजन समयवजी, छोइला, कचेला र सगुनलगायतका नेवारी खानको प्रदर्शनी गरिएको थियो । यसअघि नेवार समुदायको पोशाक, पन्चकन्या, लाखेनाच र विभिन्न बाजागाजा र झाकीसहित नगरपरिक्रमा गरिएको थियो ।
नेवा: समाज रुपनगरले नेपाल संवतका प्रर्वतक शंखधर साख्वाको स्मृतिमा न्हु: दया भिन्तुनाको अवसर पारेर प्रत्येक बर्ष साँस्कृतिक लगायतका पहिचान जनित कार्यक्रमहरु निरन्तर गर्दै आइरहेको छ ।
न्हु दँया भिन्तुना। अर्थात् नयाँ वर्षको शुभकामना।
नेपाल संवत् ११४६ नयाँ वर्ष सुरु हुँदै छ । संवत् गणना गर्ने मुख्यत: दुई आधार छन्, पहिलो चन्द्रमाले पृथ्वीलाई गर्ने परिक्रमको आधारमा भयो, अर्को सूर्यको आधारमा। नेपाल संवत् चन्द्रको गतिको आधारमा तय हुने गर्दछ। त्यसो भनेको यो चन्द्रमासमा आधारित छ।
कार्तिक शुक्ल पक्षदेखि नेपाल संवतको नयाँ वर्ष सुरु हुन्छ। तिथिमितिको आधारमा भन्ने हो भने यो संवत् कार्तिक शुक्लपक्षको प्रतिपदादेखि सुरु हुन्छ।