बागी न्युज संवाददाता

धरान, चैत्र २ । बुधबारबाट धरानका विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोपको दोस्रो मात्रा लगाउन शुरु गरिएको छ ।

गत माघ १६ देखि २१ सम्म खोपको पहिलो मात्रा लगाइएको थियो । यो खोप धरानका संस्थागत तथा सामुदायिक विद्यालयमा अध्ययनरत १२ देखि १७ बर्ष उमेर समुहका विद्यार्थीहरुलाई लक्षित छ । धरान उपमहानगरपालिका शिक्षा महाशाखाका अनुसार यो मोडर्ना खोपको दोस्रो मात्रा हो ।

महाशाखाका अनुसार खोप चैत २ गतेदेखि ८ गतेसम्म विभिन्न विद्यालयलाई केन्द्र बनाई खोप कार्यक्रम शुरु गरिएको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म सञ्चालन हुनेछ । खोपका लागि सम्बन्धित विद्यार्थीले पहिलो मात्रा खोप लगाएको कार्ड अनिवार्य गरिएको छ ।

धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानका २० वटै वडाका ४५ वटा स्कुलहरुमा खोप केन्द्र तोकिएको छ । चैत २, चैत ३, चैत ६ र चैत ७ गते खोप लगाइनेछ । यी चार दिनसम्म पनि खोप लगाउन छुटेकाहरुलाई ८ गते धरान १२ स्थित पब्लिक माविमा पुनः खोप लगाइने उहाँले बताउनुभयो । धरानका करिब १७ हजार विद्यार्थीहरुले मोडर्नाको पहिलो खोप लगाएको प्रमुख मेहताले जानकारी दिनुभयो ।
……………

Facebook Comments Box