‘आशलाग्दा’ मनोज भट्टराई धरान माओवादीको अध्यक्ष
‘काँग्रेस र एमालेलाई पनि ट्याकल गर्न सक्ने नेता’



बागीन्युज संवाददाता
धरान, चैत्र ७ । नेकपा माओवादी केन्द्र धरान उपमहानगर समितिको आज सम्पन्न निर्वाचनबाट युवा नेता सुर्यबहादुर भट्टराई अध्यक्षमा निर्वाचित हुनुभएको छ ।


मतगणनाको अन्तिम परिणाम घोषणा गर्दै मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले अध्यक्षका तीन प्रत्यासी मध्ये विजयी भट्टराईले ३५ मत र निकट्तम प्रतिद्धन्दि उद्धवबहादुर लिम्बुले ३० मत पाएको जानकारी दिनुभयो । अर्का प्रत्यासी सिपी बजगाईले २ मत मात्र प्राप्त गरेको उहाँले जानकारी दिनुभयो ।
८१ सदस्यिय नगर समितिमा हाल ७५ जनामात्र मतदाता सदस्य रहेकाछन् । कुल खसेको ७५ मध्ये ४ मत बदर भई ७१ मत सदर भएको थियो । गत पुस ९ गते पार्टीको नगर सम्मेलन भएको थियो । तर आन्तरिक विवादका कारण नेतृत्व चयन हुन सकेको थिएन । सम्मेलन सम्पन्न भएको झण्डै ३ महिना पछि आज निर्वाचन सम्पन्न भएको हो ।


खुला उपाध्यक्षतर्फ सर्वजित राईले सर्वाधिक ४७ मत पाएर विजयी हुनुभयो भने ३२ मत पाउदै सम्फर तामाङ पनि उपाध्यक्षमा विजयी घोषित हुनुभयो । उपाध्यक्षमा पराजित अन्य दुई उम्मेदवार दिलकुमार लिम्बुले २४ मत र विष्णु पुमा राईले १६ मत प्राप्त गर्नुभयो । सचिव पदको लागि भएको निर्वाचनमा विदुर महतले ३६ मत पाएर विजयी घोषित हुनुभयो । सो पदमा चेतना श्रेङले ३० मत मात्र प्राप्त गरेर पराजित हुनुभयो ।
महिला उपाध्यक्षमा मनिता राई जाइका, सहसचिवमा खेम रनपहेली र कोषाध्यक्षमा लिलाबहादुर प्रधान यसअघि निर्विरोध निवार्चित भएको घोषणा गरिएको थियो । नवनिवार्चित पदाधिकारीहरुलाई पार्टीका केन्द्रिय सदस्य किरण राईले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।
‘अध्यक्षमा मनोज आउनु पार्टीका लागि राम्रो’
आन्तरिक प्रजातन्त्र सहितको निर्वाचनबाट स्वस्थकर ढंगले नेतृत्व चयन भएको र त्यसमा पनि मनोज भट्टराई नेतृत्वका रुपमा आउनु धरान माओवादी केन्द्रका लागि सुखद भएको पार्टीका स्थानिय कार्यकर्ताहरुको भनाइ पाइएको छ । गत स्थानिय चुनावमा धरानका स्थानिय निकाय मध्ये एउटा मात्र वडा वडा नं. १७ को अध्यक्ष पद नेकपा माओवादीले जितेको थियो । जसमा मनोज भट्टराईले जित्दा पार्टीको भन्दा मनोजको व्यक्तिगत लोकप्रियता, काम गर्ने शैली र मिहनेतले जीत सम्भव भएको मुल्यांकन गरिएको थियो ।
निर्वाचित भएपछि पनि उनको काम गर्ने तौरतरिका, सबै पक्ष र विचारलाई मिलाएर लिएर जान सक्ने भएकाले उनको लोकप्रियता र उनीमाथिको विश्वास बढ्दै गएको देखिन्छ । ठुलो दल एमाले र त्यसपछि काँग्रेसको सहभागीता रहेको २० वटा वडा सहितको धरान उपमहानगर सभामा मनोज भट्टराई एकमात्र प्रभावशाली अध्यक्ष भएको विपक्षी दलले नै स्विकार गर्दै आएकाछन् । यसै लोकप्रियताको परिणाम स्वरुप पार्टीको नेतृत्वको जिम्मा उनको काँधमा पुगेको विश्लेषण गरिएको छ । पार्टी नेतृत्व जिम्मा लिएसँगै मनोजका नामले परिचित सुर्यबहादुर भट्टराईलाई धरान उपमहानगरको आगामी मेयरको रुपमा समेत हेर्न थालिएको छ । नेकपा माओवादी केन्द्र धरानमा काँग्रेस र एमालेको बलियो प्रतिस्पर्धी पार्टीको रुपमा स्थापित हुने आशा समेत गर्न थालिएको छ ।
…………..

