बागीन्युज संवाददाता

Ad

काठमाण्डौ, चैत्र १०। नेपालमा १२ वर्षसम्म उमेर समुहका बालबालिकालाई मात्र कारोना भाइरस विरुद्धको खोप लगाइएको छ । त्यसमा पनि पहिलो मात्रा लगाएका सबैले पाईसकेकाछैनन् । उनीहरुले कहिले दोस्रो मात्रा पाउँछन् भन्ने बारे सरकारले केही सुचना जारी गरेको छैन । त्यसभन्दा पनि बढी अनिश्चितता ११ बर्षसम्म उमेर समुहका बालबालिकाहरुको छ ।

यस अनिश्चिततालाई पुष्टी गर्दै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले खोप निर्माता अमेरिकन कम्पनी र नेपालबीच अझैसम्म खरिद सम्झौता भएकै छैन ।

सम्झौता समेत नहुनुमा सरकारले यसको प्रक्रिया अघि नबढाउनु कारण रहेको डा. मरासिनीको भनाई छ । विभागले फाइजर खोप ल्याउनका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाएको तर आजसम्म पास नभएकोले सम्झौताको प्रक्रिया अघि नबढेको हो । मन्त्रिपरिषदबाट पास भएपछि सम्झौता गरेर मात्र खोप खरिदको प्रक्रिया अगाडि बढाउने प्रावधान रहेको छ ।

खोप उपलब्ध हुन सम्झौता भएको कम्तिमा १ महिना लाग्ने गरेको छ । अहिले सम्झौता नै हुन बाँकी रहेकोले खोप आउनेबारे यसै भन्न सकिने अवस्था नरहेको जिम्मेवार व्यक्तिहरु नै बताउन थालेकाछन् । खोप नआउँदा ५ देखि ११ वर्ष उमेरसमुहका करिब ३५ लाख बालबालिकाको खोपको अवस्था अन्यौल बन्दै गएको छ ।

सरकारले ५ देखि ११ वर्षसम्म उमेरका बालबालिका लागि चैत मसान्तभित्र फाइजर खोप आउने बताएपनि प्रक्रियामा ढिलाई मात्र होइन, खोप आउने नै अनिश्चित बन्दै गएको छ । दिनदिनै चुनावको चपेटामा सरकार व्यस्त हुने अवस्था रहेकोले पनि जति ढिलो भयो उति असम्भव प्राय बन्दै जाने अवस्था छ ।

खोप नपाएका ५ देखि ११ बर्षसम्मका बालबालिकालाई लक्षित गरेर नेपालले ८४ लाख फाइजर खोप खरिद गर्ने योजना बनाएको छ । विश्व स्वास्थ्य संगठनले ५ वर्षभन्दा माथिका बालबालिकालाई फाइजर खोप लगाउन सकिने सिफारिश गरेको छ ।
……………….

Facebook Comments Box