खगेन्द्र कार्की ,सप्तकोसी /समाचार संकलन गर्न गएका पत्रकारलाई समाचार संकलनमा रोक लगाउदै कोठामा थुन्दै सञ्चार उपकरण खोसेर दुर्व्यवहार गर्ने सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलसहितलाई कारबाहीको माग गर्दै पिडित पत्रकार र नेपाल पत्रकार महासंघ सप्तरीले प्रहरीमा जाहेरी दिएका छन ।

राजगढ गाउँपालिकाका केही वडाका वडा अध्यक्षसहितका जनप्रतिनिधि र स्थानीयले अध्यक्ष मण्डलविरुद्ध शुरु गरेको आन्दोलनको रिपोर्टिङ गर्न गएका पत्रकारलाई पालिका अध्यक्ष मण्डलले मंगलबार कोठामा थुनेर दुर्व्यवहार गरेका थिए ।

पत्रकार महासंघ सप्तरीका सचिव तथा कान्तिपुर टीभीका संवाददाता रामनारायण विश्वास, पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष तथा राजविराज दैनिकका पत्रकार नवीन गुप्ता र नेपाल समाचारका संवाददाता विद्यानन्द रामलाई अध्यक्ष मण्डलसहितले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा थुनेर सञ्चार उपकरण खोस्दै दुर्व्यवहार गरेका थिए ।
घटनामा संलग्न पालिका अध्यक्ष मण्डलसहितलाई कारबाहीको माग गर्दै पीडित तीनै जना पत्रकारले जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी गजुसिद्धी बज्राचार्यसमक्ष जाहेरी दिएका छन् ।
यस्तै घटनाको सत्यतथ्य छानबिन गरी दोषी सबैमाथि कारबाही गर्न नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले पनि प्रहरीमा निवेदन दिएका छन् ।

Facebook Comments Box