राजविराज/सप्तरीको शम्भुनाथ नगरपालिका ६ कठौनाका एक परिवारको करोडौंको सम्पत्ति कृषि बिकास बैंकले १५ लाखमा निलामी गर्दा घरधनी चौधरी  घरबाट निकालिएका छन् ।                        बैंकले लिलाम गरेपछि डाक लिलामी साकार गर्ने शम्भुनाथ नगरपालिका ८ बैरयाहीका शिवचरण चौधरीको नेतृत्वमा आएका ३०/ ३५ जनाको समुहले मंगलबार सुरतलाल चौधरीका परिवारलाई घरबाट निकालेर तालाबन्दी गरेका छ्न ।
चौधरी नेतृत्वमा आएका समूहले घरभित्र पसेर भाँडाकुँडा, फर्निचर,ओढ्ने ओछ्याउने लुगाफाटोसहितका सरसामान लिकालेर सडकमा मिल्काएर घरमा ताला लगाएर गएको पीडित परिवारले बताएका छन् ।

घटना बारे प्रहरीलाई तत्कालै जानकारी गराएपनि सुनुवाइ नभएको पीडित चौधरीले बताए । घरभित्र पसेर लुटपाट गर्न साथ प्रहरी चौकी कठौना र इलाका प्रहरी कार्यालय कल्याणपुरमा आफै पुगेर घण्टौसम्म कुरेर बसी जानकारी गराउंँदा पनि प्रहरीले चासो नदिएको पीडितले गुनासो गरे ।
बैक र डाक लिलामी गर्ने चौधरीको प्रभावमा परी प्रहरीले आफ्नो कुरा नसुनेको उनले आरोप लगाए ।  घरमा ताला लगाएपछि सबैपरिवार घर बाहिरै भोकभोकै बस्नु परेको पीडित सुरत लाल चौधरीले दुखेसो पोखे ।
अदालतको अन्तरकालीन आदेश विपरीत शिव चरण नेतृत्वको समुहले आफ्नो परिवारमाथि आक्रमण गरेको पीडितका छोरा मदनेश चौधरीले बताए । विना सूचना घर निकाला गर्दा आफ्नो बृद्वबृद्वा बुवाआमा र नाबालक छोराछोरी विचल्लीमा परेको उनले दुखेसो पोखे ।
सप्तरी जिल्ला अदालत राजविराजमा फैसला वदर लिलाम वदर दाखा दर्ता वदर दर्ता कायम मुद्दा सुरत लाल चौधरीको छोरा मदनेश कुमार चौधरीले दायर गरेपछि उनको पक्षमा अन्तरकालीन आदेश दिदै भदौ ६ गते दुबैपक्षलाई छ्लफलका लागि हाजिर हुन आदेश गरिएको थियो ।
न्यायाधीश उदवीर नेपालीले २०८१ साउन २४ गते गरेको आदेश प्रमाण मिसिल साथै राखेको नदेखिएकाले उक्त मिसिलहरु साथै राखी निवेदन छ्लफलको लागि मिति २०८१/०५/०६  गतेको पेशी तोकी सो मितिसम्म पुर्व आदेशानुसार जग्गा यथास्थितिमा राख्नु भनि विपक्षीलाई जानकारी दिनु भनि दिएको आदेशलाई चुनौती दिदै विपक्षीले लुटपाट शैलीमा घरको सामान मिल्काएर घरमा ताला लगाई तथानाम गालीगलौज गरेको पीडित परिवारको आरोप छ ।
बैक र लिलाम समितिसंगको मिलोमतोमा आफ्नो करोडौं मुल्यको घरजग्गा हत्याउने नियतले  बैक कर्मचारीको आफ्ना मान्छे शिवचरणले सूचनाको म्याद नपुदै डाक लिलाम साकार गरेको घरजग्गा धनी सुरतलाल चौधरीको  आरोप रहेको छ ।  २०७१ असार मसान्तसम्मको सूचनाको म्याद हुदाहुदै शिव चरणले  असार २० गते डाक लिलाम सकार गरेको उनले बताए ।  आफू सूचनाको म्याद भित्र असार २६ गते ॠणको साँवा र लाग्ने व्याजसहित कृषि विकास बैक कल्याणपुर शाखामा उपस्थिति हुँदा तपाईको नाममा कुनै ॠण नभएको भनि त्यसै फर्काइएको उनले जानकारी दिए ।
उनले आफ्नो सम्पत्ति बेइमानी भएको थाहा पाएपछि सप्तरी जिल्ला अदालत राजविराजमा ॠणको साँवा व्याजसहित धरौटी राखी लिलाम समितिको फैसला बदर, दाखा वदर र पुरानो दर्ता कायम मुद्दा विपक्षीहरुको विरुद्ध दायर गरेको बताए ।
उनका अनुसार दस बर्षदेखी जिल्ला, पुनरावेदन ( उच्च) र सर्वोच्च अदालतमा बैंक, लिलाम समिति र शिव चरण उपर मुद्दा दायर गरेपनि तीनै तहका अदालतबाट विपक्षमा फैसला आएको छ । अदालतले विपक्षमा फैसला गरेपनि घरजग्गा खाली गर्न आदेश भने नदिएको  उनले बताए । अदालतको आदेश विपरित विपक्षीले लुटेरा शैलीमा आफुहरुलाई घर निकाला गरेको भन्दै घरमा शान्तिपुर्वक बस्नु पाउनु पर्ने दाबि गरे ।
तीन तहको अदालतले विपक्षमा फैसाला गरेपछि सुरतलालको छोरा मदनेशले आफू अंसयारी भएको भन्दै पुन: विपक्षीहरु उपर फैसला बदर, लिलाम बदर दखा दर्ता वदर दर्ता कायम मुद्दा दायर गरेका थिए । उनको माग दाबीको सुनुवाइ गर्दै सप्तरी जिल्ला अदालत राजविराजले भदौ ६ गते विपक्षीहरुलाई छ्लफलमा बोलाएका थिए ।  छलफलको दुईदिन समय हुदाहुदै विपक्षीले ठूलो समुह लिएर चौधरी परिवारको घर खाली गराई ताला लगाएका छन् ।
चौधरीले कठौना बजारमा १६ धुर  क्षेत्रफल जग्गामा १५ कोठाको २ तले पक्की भवन भएको घर कृषी विकास बैक कल्याणपुर शाखामा धितो वन्धकी राखी २०६१ सालमा ४ लाख ५० हजार ॠण उठाएका थिए ।
यता शिव चरण चौधरीले आफ्नो नेतृत्वमा गएको टोलीले घर खाली गरी ताला लगाएको स्वीकार गरे ।  प्रहरीले सुरक्षा नदिएको बारे सप्तरीका प्रहरी प्रमुख गजुसिध्दी बज्राचार्यसंग बुझ्दा इलाका प्रहरी कार्यालय कल्याणपुरको क्षेत्रमा पर्ने भएकोले त्यहीबाट बुझ्नु भन्दै पन्छिए ।

Facebook Comments Box