सप्तरीको कङ्कालिनी मन्दिर र छिन्नमस्ता भगवती मन्दिरमा हेलिकप्टरबाट पुष्पवृष्टि
सप्तकोसी /सप्तरीको प्रसिद्ध शक्तिपीठ कङ्कालिनी मन्दिर र छिन्नमस्ता भगवती मन्दिरमा शुक्रबार हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट छिन्नमस्ता गाउँपालिका–३ सखडामा अवस्थित छिन्नमस्ता र हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहमा रहेको कङ्कालिनी मन्दिरमा पुष्पबृष्टी गरिएको हो ।
छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीका अनुसार पहिलो पटक आज शुक्रबार गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकप्टरमार्फत् पुष्पवृष्टि गरिएको उनले बताए ।
“धार्मिक आस्था र मातृ शक्तिप्रति श्रद्धा व्यक्त गर्दै, छिन्नमस्ताको अद्भुत शक्तिको सम्मानस्वरूप पहिलो पटक हामीले अष्टमीको दिन पुष्प वृष्टि गर्दा यहाँका भक्तजन र यस क्षेत्रका स्थानीयवासी खुशी भएका छन्”, अध्यक्ष चौधरीले भने,”राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिकास्थित ठूलोपोखरीको उत्तरी डिलमा अवस्थित छिन्नमस्ता मुलुकका प्रमुख ५१ शक्तिपीठमध्ये एक मानिन्छ ।
यस मन्दिरमा बडा दसैँमा मेलासमेत लाग्ने गरेको मन्दिरको अध्यक्ष चौधरीले बताए । मन्दिरका पिठाधीश महकान्त ठाकुरका अनुसार यस मन्दिरमा भाकल पूरा भएपछि लड्डु र बोका चढाउने परम्परा छ ।
यसैगरी हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कङ्कालिनी मन्दिरसमेतमा नेपाली सेनाको हेलिकप्टरमार्फत पृष्पवृष्टि गरिएको छ । विगत दुईवर्षदेखि बडा दसैँको महानवमीका दिन हेलिकप्टरमार्फत पृष्प वृष्टि गराउन थालिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
कङ्कालिनी मन्दिरमा दशैंको नवमी तिथिका दिन यस मन्दिरमा राँगो बली दिने चलन छ । हालसम्म छ सय २१ वटा राँगो यहाँ बली दिइएको मन्दिर विकास समितिले बताएका छन् । बडादशैको अवसरमा पनि शुक्रबार ठुलो मेला लागेको छ ।
राँगा बली चढाउने विषयलाई लिएर केहिबेर बली प्रदान रोकिएको तथा सहमति पछि पुन: बली दिन थालिएको स्थानीयले जनाएको छ ।