सप्तकोसी /सहकारी ठगी अभियोगमा पक्राउ  परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवी लामिछानेलाई रिहाइको माग गर्दै सप्तरीको सप्तकोसी नगरपालिकामा सोमबार प्रदर्शन गरिएको छ ।                   राष्ट्रिय स्वतन्त्र पार्टी सप्तकोसी नगर कमिटीको अगुवाइमा लामिछानेलाई निशर्त रिहाईको माग गर्दै स्थानीय नेताकार्यकर्ताहरुले प्रदर्शन गरेका राष्ट्रिय स्वतन्त्र पार्टी सप्तकोसी नगर सचिब अरुण कटवालले जानकारी दिए।रवि दाईलाई रिहाइ गर, दोषीलाई कारबाही गर लगायतका नारा सहितका प्लेकार्ड बोकेर सरकार विरुद्ध चर्का नारा लगाउँदै रास्वपाका नेताकार्यकर्ताले फत्तेपुर बजार परिक्रमा गरी चौकमा कोणसभाको आयोजना गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै बक्ताहरुले रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साध्ने तरिकाले सरकारले गिरफ्तार गरेको आरोप लगाए । रवि लामिछाने निर्दोष भएको दावी गर्दै उनीहरुले निसर्त रिहाई नगरीए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने सहकारी ठगी काण्डमा पक्राउ परी ऊनीमाथि अदालतबाट म्याद लिई अनुसन्धान जारी रहेको छ । लामिछाने कास्की जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा रहेका छन् ।

Facebook Comments Box