चुनावी गठबन्धन ‘खाए खा नखाए घिच’ हुँदैन– राजिव कोइराला
सुनसरी १ मा कांग्रेसको वृहत प्रशिक्षण


बागीन्युज संवाददाता

धरान, चैत्र २३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले चुनावी गठबन्धन खाए खा नखाए घिच नहुने बताउनुभएको छ ।

स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलहरु वीच चुनावी गठबन्धनको गृहकार्य भईरहेको वेला उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो । यद्धपि उहाँको यो भनाई व्यक्तिगत भएको नेपाली काँग्रेसकै कतिपय नेताको भनाइ छ ।
नेपाली कांग्रेस सुनसरी १ ले धरानमा आयोजना गरेको वृहत प्रशिक्षण तथा ‘घरघर जाऔं कांग्रेस जिताऔं’ कार्यक्रमलाई संवोधन गर्दै उहाँले स्थानीय आवश्यकताका आधारमा मात्र गठबन्धन हुने बताउनुभएको छ ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख प्रशिक्षक एवम् नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको इतिहास र सैद्धान्तिक प्रारुपका विषयमा प्रशिक्षण दिनुभएको थियो । संघीय सांसद मीना सुब्बाले एमालेको दम्भ र दादागिरीले डुब्न लागेको हाम्रो देशलाई पार्टी सभापति शेरवहादुर देउवाको नेतृत्वमा बचाउने काम भईरहको बताउनुभयो । प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहको निर्वाचनमा महिलालाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
प्रदेश महामन्त्री उमेश थापाले एम.सी.सी. नेपालको विकास र समृद्धिको पक्षमा ऐतिहासिक कदम भएको भन्दै खोक्रो राष्ट्रवादी कम्युनिष्टहरुले विभिन्न भ्रम फैलाएर तुहाउन खोजे पनि हाम्रो पार्टीको समाझदारीपूर्ण भूमिकाले सफल भएको बताउनुभयो । कार्यक्रममा जिल्ला सभापति केदार भण्डारी, उपसभापति नगेशचन्द्र राई, जिल्ला सचिव माधव घिसिङ, क्षेत्रीय उपसभापति तथा प्रदेशसभा १(२) का सभापति मुरारी भट्टराई लगायतले मन्तव्य राख्नुभएको थियो ।
तस्विर सुजेन्द्र तामाङबाट
…………….