आदिवासी थारुलाई मधेशीकरण गर्ने अभियान वन्द हुनु पर्छ


सरिता चौधरी
नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य
रिटर्नी फेडेरेशन नेपाल केन्द्रिय सचिव तथा मधेश प्रदेश इन्चार्ज
नेपाल वहु जातिय , वहु भाषिक ,बहु सांस्कृतिक एवम् भौगोलिक विविधता भएको राष्ट्र हो। सम्पूर्ण जात जातीको आफ्नै मौलिक पहिचान छ र ती भाषा , कला, संस्कृति र पहिचानको सम्मान गर्नु हामी सबै जातजातीको सभ्यता हो । तर यहाँ एक जातीले अर्को जातीको भाषा , कला र सभ्यता माथी सम्मान जनक व्यवहार नगर्दा सामाजिक सद्भाव भड्की रहेको छ । नेपालको इतिहास शासक, प्रशासकको मात्र होइन युगौ देखी बसोबास गरी आएका यहाँका अवाक,निशब्द आदिवासी थारु र अन्य जात जातीहरुको पनी हो ।


भर्खरै मधेश प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा बनेको विधेयक , २०८१ मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारीले पेश गरेको विधेयकमा अन्य भाषा सँगै हिन्दी र अँग्रेजी समेटिनु तर तराई भूमिमा प्राचिन काल देखी वसोवास गर्दै आएका आदिवासी थारु जातीको भाषा नसमेटिनु घोर आपत्ति जनक छ। माननीय शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारी ज्यू विधेयकमा थारु भाषा काट्दै गर्दा आदिवासी थारु जातिको उत्पती भाषा , धर्म , परम्परा, सांस्कृति , भेषभुषा, रहनसहन, कला साहित्य बुझ्नु पर्दैन , अध्ययन अनुसन्धान तथा अन्वेषण गर्नु पर्दैन?
नेपालको सँरचना हिमाल, पहाड़, तराईले वनेको छ । त्यस तराई प्राचीन प्रारम्भिक कालमा औलो जस्तो भयानक रोग विरुद्ध लड्दै नेपलको तराई क्षेत्रलाई उर्वरा गर्दै यस भूमिलाई रक्षा गर्ने थारु जातीको महत्वपूर्ण योगदानलाई मधेश सरकारले अनदेखा गर्नु निर्लज्जता हो।
थारु जाती सामाजिक र साँस्कृतिक रुपले समृद्ध छ। यसको आफ्नै विशिष्ट पहिचान छ । थारुहरु मलेरिया रोगनिरोधक जाती हुन भनेर वैज्ञानिक परिक्षणले पुष्टी गरेको छ । मधेश प्रदेश सरकार लाई ज्ञान छ की छैन, मलेरिया रोगनिरोधक बन्न त्यस भूमिमा तीन हजार बर्ष भन्दा बढीदेखि बसोबास गरेको रगत हुनु पर्दछ । यहाँ यस तराईको ८ जिल्ला मधेश वनाएर जहाँ मधेशी शासन गर्दैछ हो त्यस तराईमा ७० बर्ष अगाडी मलेरिया हटेपछी मात्र यस क्षेत्रमा मधेशी , पहाडी लगायत अन्य जात जातीले वसोवास गरेको इतिहास जिवित रहेको पाईन्छ।


इतिहासकार लक्ष्मण थारु लेख्नु हुन्छ।-“ भारतवाट आएका मधेशी समुदाय भारतमा वेलायत सरकार हुँदा बँगाल विहार र उत्तर प्रदेशमा रेल्वेको विकासमा पटरी विच्छ्याउन नेपालको तराई क्षेत्रमा जँगल फाडेर सखुवाका काठहरु लैजान थालेपछी उव्रेको जमिनमा त्यस्ताबाट आएकालाई मालपोत लिएर बसाएका हुन। यहाँ कैयो पहाड़ी समुदाय जँगल फडानी गरेर बसेको जिवित इतिहास छन । पछी आएर थारुका जमिन भूभाग चलाखी गरेर अन्य समुदायले आफ्नो हात पारेको तथ्य पाउन सकिन्छ।”
यसरी तीन हजार बर्ष अगाडी तराई भूभागमा वसिआएका यी थारुहरुको भाषा नसमेटी नेपाली अतिरिक्त मैथली, भोजपुरी, बज्जिका,हिन्दी र अंग्रेज़ीलाई सरकारको कामकाजी भाषाको रुपमा अगाडी बढाईरहदा थारु भाषालाई उपेक्षा गरिनु थारु भाषा माथी ठाडो आक्रमण गर्नु हो।
राज्यले घोषणा गरेको एक मधेश एक प्रदेश यहाँ स्वीकार्य छैन। तराईको ८ जिल्लालाई मधेश प्रदेश नामले नामाकारण गर्नु नै यस जिल्लामा वस्ने आदिवासी थारु र अन्य समुदायको लागी आपत्तिजनक छ। तराईका थारु लगायत सम्पूर्ण आदिवासी जनजातीहरुलाई मधेशीकरण गर्ने अभियान तुरुन्त वन्द गर्नुपर्दछ । यती मात्र हैन नेपाल सरकारको निर्वाचन ऐन तथा अन्य ऐन कानुनमा थारु समुदाय मधेशीको रुपमा गरिएको वर्गीकरण तुरुन्त सच्याउनु पर्दछ । नेपालको तराई भूमिमा वसोवास गर्ने आदिवासी भूमिपुत्र थारु जातीलाई अपहेलना गर्नु मधेश प्रदेश सरकारको सौतेलो व्यवहारले समाजमा सामाजिक सदभाव भडकिएको छ। जात जातीप्रती असन्तुष्टी र द्वन्द सृजना भएको छ।
थारु समुदाय प्रदेश सरकारवाट मात्र हैन सँघीय राज्यवाट पनी दमित र पिडित छन। नेपालमा विभिन्न युगान्तकारी परिवर्तन भए तर थारु मुक्ति हुन सकेको छैन । पहिचान र अस्तित्वको रक्षात्मक थारु आन्दोलन अहिले पनी जारी नै छ। थारुहरुले यो राज्य , यो प्रदेश मेरो पनी आफ्नो हो भन्ने राज्य सँरचना बन्न सकेको छैन । तराईका आदिवासी भूमिपूत्र मूलतः थारु नै हुन तर हाल आएर तराईलाई मधेश भनिरहेको छ। मधेश के हो र मधेशी को हुन भन्ने कुरामा स्पष्ट हुन आवश्यक छ की छैन ?
सन. २००३ मा उपेन्द्र यादवले लेखेको ‘नेपाली आन्दोलन और मधेशी मुक्ति सवाल’ पुस्तकको पछाडीको कभर पेजमा राहुल सांस्कृत्यायनको लेखन उद्धृत गरिएको वाट केही बाक्यहरु यस प्रकार छन।…. “ तराई के मधेशी जनताको स्वतंत्र नागरिक की तरह व्यवहार किया जाय न कि विजती रैतियो कि तरह।…. नेपाल सरकार ने हमारे भाई बन्धुओं, जिन्हे आज बाध्य होकर नेपालमे रहना पड रहा है, उनसे नाजायज फाइदा नही लेना चाहिये ।… तराईके मोरंग से काली शारदा नदि किनारातक बसोबास करनेवाली हिन्दी भाजी जन्ता … पूर्णिया से पिलिभीत और दक्षिण के जिलों मे भी रहती हैं।… भारतका सहोदर है यदी उनको वहाँ सम्मानित नागरिक माना जाय तो उनके अन्दर रहने मे उन्हे कोई अरुची नहीँ हो सकती है।”…
अहिले पूर्वी तराई क्षेत्रमा मधेशीले शासन गर्न थालेको छ भने पश्चिम तराई क्षेत्रमा पहाड़ी ठकुरी क्षेत्री बाहुनले यो कुरा सर्वविदित तथ्य हो। शासकहरुले थारु माटो र भूमिमा मात्र आधिपत्य जमाएको छैनन। थारु भाषा , धर्म , संस्कृति, मौलिकता र पहिचान खोसेको छ। हजारौ थारुहरुलाई कमैया र कमलरीको रूपमा दास वनाएका छन । हाम्रो थारु समुदायलाई दिएको यो पिडाको घाउँ आलै छ तर अहिले मधेश प्रदेश सभामा नेपाली भाषाका अतिरिक्त मैथली, भोजपुरी, बज्जिका,हिन्दी र अंग्रेज़ीलाई सरकारको कामकाजी भाषाको रुपमा अगाडी बढाईरहदा थारु भाषालाई उपेक्षा गर्नु थारु जाती माथी अपहेलना हो , दमनकारी कदम हो। यो अमान्य हुनेछ । यसलाई मधेश प्रदेश सरकारले सच्याएर जानु पर्दछ ।

