उत्सव आचार्य
कञ्चनरुप, ४ फागुन । नेकपा एमाले सप्तकोसी नगरकमिटि र कञ्चनरुप नगर कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सोमबार बृहद् चुनावी र्‍याली आयोजना गरेको छ।
नेकपा एमाले सप्तकोसी पार्टी कार्यलय बाट चुनावी र्‍याली सहिदको घरदैलो कार्यक्रम शुरु गरेकोछ।सप्तकोसी १ र २ मा नेताकार्यकर्ताको बाक्लो उपस्थितिमा चुनावी र्‍याली गर्दै घरदैलो अभियान शुरु गरेको छ। कञ्चनपुर हटियाबाट हजारौँ कार्यकर्ता तथा समर्थकको सहभागितामा सुरु भएको र्‍याली कञ्चनरुप नगरपालिकाका विभिन्न क्षेत्रको परिक्रमा गर्दै कञ्चनपुर बेरियरमा पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा क्षेत्र नम्बर १ का एमाले उम्मेदवार सुमनराज प्याकुरेल ले आफू निर्वाचित भएमा क्षेत्रको विकासले उल्लेखनीय छलाङ मार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले हालसम्म यस क्षेत्रका नागरिकले अपेक्षित विकासको अनुभूति गर्न नसकेको उल्लेख गर्दै कोशी टप्पु वन्यजन्तु आरक्षबाट उत्पन्न समस्या, सिँचाइ अभाव, बेरोजगारी, खेलकुद पूर्वाधार, नदी तटबन्ध, शिक्षा तथा स्वास्थ्य क्षेत्रका विषयलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, जनताको शिर कहिल्यै झुक्न नदिने दृढता व्यक्त गर्दै र्‍यालीमा उत्साहपूर्वक सहभागी सबैप्रति आभार प्रकट गर्नुभयो।


प्याकुरेलले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै क्षेत्र नम्बर १ को समग्र विकास र उत्थानका लागि आफूले उम्मेदवारी दिएको बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै कञ्चनरुप नगरपालिकाका पूर्व नगरप्रमुख बसन्त कुमार मिश्र ले एमालेबाहेक अन्य दलले जनताको पक्षमा प्रभावकारी काम गर्न नसकेको दाबी गर्नुभयो। उहाँले एमालेले गरेका कार्यकै कारण देशी तथा विदेशी शक्तिहरूले पार्टीलाई घेराबन्दीमा पार्ने प्रयास गरेको आरोप लगाउनुभयो।


देशको समग्र विकास र स्थायित्वका लागि एमालेको बहुमत सरकार आवश्यक रहेको उल्लेख गर्दै उहाँले उम्मेदवार सुमनराज प्याकुरेललाई अत्यधिक मतसहित विजयी गराउन सबै मतदातासँग आग्रह गर्नुभयो।
एमालेका क्षेत्रीय सचिव सरोज राना मगरद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रमको अध्यक्षता नगर कमिटी अध्यक्ष बच्चुलाल चौधरीले गर्नुभएको थियो।

Facebook Comments Box