दश वर्षीया बालिका बलात्कार गर्नेलाई जन्मकैदको फैसला



राजविराज । सप्तरी जिल्ला अदालतले दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ।
बालिकालाई बलात्कार गरेको अभियोगमा सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का ४५ वर्षीय शिवनारायण साहलाई बुधबार अदालतले जन्मकैदको फैसला सुनाएको हो। ।
जिल्ला न्यायाधीश माधवप्रसाद सुबेदीको इजलाशले साहलाई कसूरदार ठहर गर्दै जन्मकैदका साथै ५५ हजार रुपियाँ क्षतिपूर्ति भराउने र २ हजार ८ सय रुपियाँ फौजदारी कसूर पीडित राहत कोषमा जम्मा गर्न लगाउने फैसला गरेको छ ।
बाख्रा चराउन जाने गरेकी पीडितलाई पछिल्लो पटक ०७७ असार १३ गते बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा असार २३ गते उजुरी दिनुभएको थियो । खेत नजिकै घर बनाई बसेका आरोपितले त्यस अघि पटक–पटक बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितले पानी पिउन आरोपितको घर गएको मौका छोपी सुरुमा अश्लिल कुरा गर्ने, छामछुम गर्ने गरेकोमा पछिल्लो एक महिनादेखि यौन शोषण गर्न थालेको बताउनु भयो ।
बिराटनगरमा अध्ययनरत पीडितकी दिदी ०७७ असार २१ गते घर आएपछि बहिनीको अवस्था देखेर शंका मानी सोधपुछ गर्दा पटक–पटक बलात्कार भएको जानकारी पाएर जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको बताउनु भयो । बलात्कारको आरोपमा प्रहरीले आरोपितलाई ०७७ असार २३ गते गिरफ्तार गरेको थियो ।
पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७७ असार २२ गते स्वास्थ्य परीक्षण भएको थियो । चिकित्सकहरूले बालिका कम्तीमा दुई सातादेखि यौन शोषणबाट पीडित रहेको बताएका थिए ।
जिल्ला अदालतमा ०७७ साउन १६ गते अभियोगपत्र दायर भएकोमा अदालतको आदेशमा आरोपित साउन १८ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा छन् ।

