कञ्चनरूप, १८ फागुन । शेयर कारोबार सिकेर त्यसबाट कसरी कमाउन सकिन्छ भन्ने विषयमा रूपनगर क्याम्पसका विद्यार्थीका लागि एक दिने प्रशिक्षण आयोजना गरियो छ ।
रुपनगर नन्दराज संग्रौला क्याम्पस कञ्चनरुप १२ रुपनगरले बिहीबार प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।
डिम्याट खाता, मेरो शेयर, आइपिओ, लगायत स्टक सम्बन्धी आधारभूत अवधारणा र तिनका प्रक्रियाबारे सहभागीहरूलाई व्यवहारिक ज्ञान दिइएको सो कार्यक्रममा शेयर बजारमा प्रत्यक्ष अनलाइन कारोबार गरेर देखाएर अन्तर्क्रिया गर्दै सिकाइएको थियो ।
राष्ट्र संघीय निकाय यूएन उमनका परामर्शदाता शिव कुमार रायले दिनु भएको सो आधारभूत प्रशिक्षणमा ३० जना विद्यार्थी र केही अविभावक सहभागी थिए ।

जान्ने हो भने शेयर कारोबार गरेर राम्रै आम्दानी गर्न सकिने बताउँदै प्रशिक्षक रायले शेयर बजारका विविध पक्षबारे जानकारी दिनुभयो । शेयर बजारमा खेलेर कसरी पैसा कमाउने भन्ने यस्तो छोटो कार्यक्रममा धेरै सिक्न सकिन्न । यो विषय अलि जटिल हुन्छ । तर सिक्ने हो भने गाह्रो छैन । रूचि राख्नेहरूले मसँग सम्पर्क गरेर अझ धेरै सिक्न सक्नुहुन्छ, भन्दै उहाँले शेयर कारोबारप्रति रूचि जगाउने शैलीमा प्रस्तुति दिनुभयो ।

प्रशिक्षक रायले शेयर बजारका विविध पक्षबारे जानकारी दिँदै

आयोजक रूपनगर नन्दराज संग्रौला क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले कार्यक्रम आरम्भ गर्दै विश्वविद्यालयले निर्धारण गरेको पाठ्यक्रम पढेर, प्रमाणपत्र हासिल गरेर मात्र हुँदैन, भन्नु भयो । कुनै न कुनै शीप नजान्ने हो भने आजको प्रतिस्पर्धाको युगमा केही गर्न सकिन्न र रोजगारी पाउन पनि गाह्रो हुन्छ भन्दै गजुरेलले विद्यार्थीहरूलाई अहिलेको आवश्यकता अनुसारको शीप सिक्न सुझाव दिनु भयो ।
जीवन उपयोगी व्यवहारिक शीप आजको अनिवार्य आवश्यकता हो भन्ने यथार्थलाई आत्मसात् गरेर रूपनगर क्याम्पसले आफ्ना विद्यार्थीहरूलाई विभिन्न शीपमूलक कार्यक्रम र प्रशिक्षण दिने गरेको छ ।
यसै क्रममा खोजमूलक फिचर लेखन प्रशिक्षण र अभ्यास चाडैँ शुरू गर्न लागिएको जानकारी प्राध्यापक गजुरेलले दिनु भयो ।

Facebook Comments Box