बागीन्युज संवाददाता

भोजपुर, चैत्र ४ । पहिचान पुरस्कार कोषले यसवर्षको पहिचान पुरस्कार वितरण गरेको छ ।

पहिचानका मुद्धालाई स्थापित गर्न निरन्तर सिर्जनामा क्रियाशिल सर्जकहरुलाई पुरस्कृत गर्ने उद्धेश्यले पहिचान पुरस्कार कोषले २०७२ सालमा पहिचान पुरस्कार स्थापना गरेको हो । कोषले केही समयअघि घोषणा गरे अनुसार यसवर्षको पहिचान पुरस्कार ‘पथेर’ कथासंग्रहका लागि श्याम शाह र ‘कदम’ उपन्यासका लागि अनन्त वाग्लेलाई अर्पण गरिएको हो । पुरस्कार राशी नगद चार लाख दुई हजार दुई रुपैयाँ र सम्मान पत्र रहेको छ ।

कार्यक्रमको आयोजना शुक्रबार भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका स्थित चखिया भञ्ज्याङमा गरिएको थियो । कार्यक्रमका लागि पहिचान पुरस्कार कोषका संस्थापक नरेश काङमाङ राई बेलायतदेखि सो स्थानमा पुग्नुभएको थियो भने पुरस्कृत व्यक्तित्व र अतिथिहरुको एक टोली सो स्थान पुगेको थियो । टोलीमा साहित्यकारहरु खगेन्द्र सङ्ग्रौला, मुनाराज शेर्मा, राजन मुकारुङ लगायत हुनुहुन्थ्यो ।

चखिया भञ्ज्याङ दुर्गम तर विशेष र फरक मौलिकता, स्थानियता तथा साँस्कृतिक विशेषता भएको क्षेत्र हो । कुनै होटल, रिसोर्ट वा सभागृहमा कार्यक्रम गर्ने परम्परागत मान्यतालाई तोड्दै पहिचान पुरस्कार कोषले कार्यक्रम स्थल चखिया भञ्ज्याङलाई छनौट गरेको हो । पहिचान पुरस्कार कोष स्थापनाको मर्म र उद्धेश्य अनुसार कार्यक्रम सम्पन्न गर्ने शैलीमा विशिष्ट पहिचान र फरकपन झल्क्याउन कार्यक्रमका लागि सो ठाउँ छनौट गरिएको आयोजक पक्षले जनाएको छ । पहिचान साहित्य लेखनका महत्वपुर्ण र विशेष मुद्धाहरु चखिया भञ्ज्याङ जस्ता विशेष क्षेत्र र दुरदराजहरुमा छरिएकाछन् भन्ने सन्देश लेखनवृत्तमा पु¥याउन पनि यसप्रकार कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । ‘चखिया भञ्ज्याङ जस्ता स्थानियता भएका ठाउँहरु नै पहिचानको मुद्धाको थातथलो हुन् । पहिचानको मुद्धालाई स्थापित गर्न यी क्षेत्रहरुको संवद्र्धन र प्रवद्र्धन गर्न जरुरी छ ।’ आयोजक स्रोतले भन्यो । कार्यक्रमलाई विशुद्ध मौलिक परम्परा र स्थानिय जनजीवनमा आधारित भएर सम्पन्न गरिएको थियो । कार्यक्रमका अतिथि तथा सहभागीहरुलाई स्थानिय परम्परा अनुसारकै खानपान तथा रहनसहनको व्यवस्था गरिएको थियो । सो क्षेत्रमा पाइने लाली गुराँसको माला लगाईदिएर अतिथिहरुलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा लेखक खगेन्द्र सङ्ग्रौलाले कार्यक्रम आयोजनाको शैलीको प्रशंसा गर्दै मातृभूमिको मौलिकता र ऐतिहासिक मुल्यलाई आत्मसात गरेमा मात्र पहिचानको मुद्धालाई स्थापित गर्न सहज हुने विचार राख्नुभयो ।

कोष संस्थापक तथा युद्ध कवि नरेश काङमाङ राईले पहिचान पुरस्कार नेपालको साहित्यका क्षेत्रमा सबैभन्दा ठुलो राशी भएको पुरस्कार भएको जानकारी दिँदै यसको स्थापना सरकार, संस्था वा निकायको सहयोगबाट नभई व्यक्तिगत प्रयासबाट शुरु गरिएको अभियानबाट भएको बताउनुभयो । कोष नितान्त पहिचानको मुद्दामा कलम चलाउने जुनसुकै विधाका सर्जक तथा संग्रहलाई पुरस्कृत गर्न स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।
(तस्विरहरु नरेश काङमाङ राईको फेसबुक)
……………

Facebook Comments Box