धरानमा खानेपानीको अभाव शुरु
स्थानियवासी ट्यांकरको पानी खान बाध्य



बागीन्युज संवाददाता
धरान, चैत्र ६ । वर्षेनी खानेपानीको अभावको समस्या दोहोरिँदै आएको धरानमा यसवर्ष पनि अभाव शुरु भएको छ ।


वर्षायाममा स्थानिय मुहानबाट मुलको पानीले भरथेग गर्दै आएकोले अभाव नहुने धरानमा वर्षेनी सुक्खा याममा पानीको चरम अभाव हुने गरेको छ । सुक्खा मौसम शुरु भएसँगै यसवर्ष पनि खानेपानीको अभाव शुरु भएको धरानवासीले विभिन्न माध्यमबाट गुनासो गर्न थालेकाछन् ।
धारामा पानी नआउदा धरानवासीले ट्यांकरबाट महँगो पानी किनेर पिउनु परिरहेको छ । कतिपय वडामा वडा कार्यालयले नै ट्यांकरमार्फत पानी आपुर्ति गरिरहेको छ ।


खानेपानी समस्यालाई दीर्घकालिन हल गर्ने भनेर धरान खानेपानी आयोजना (आइयुडिपी) मार्फत झण्डै पौने २ अर्ब खर्च भइसकेको छ । आयोजना आएपछि धरानको खानेपानी समस्या दोहोरिदैन भन्ने धरानवासीको विश्वास भएपनि अहिले धरानवासी निराश हुने अवस्थामा पुगेकाछन् । धरान खानेपानी संस्थानलाई धरान खानेपानी बोर्डमा समायोजन गरिसक्दा पनि खानेपानी अभाव जस्ताको तस्तै छ । यति धेरै परिमाणको रकम खर्च भईसकेको आयोजना असफल भएको हो कि भन्ने आशंकाले धरानवासी आक्रोशित बन्दै गएकाछन् । प्रत्येक वर्ष यस समयमा धरानवासीको दैनिक आन्दोलनले धरान खानेपानी संस्थान तनावग्रस्त बन्दै गएको छ । यसवर्ष पनि सो क्रम दोहोरिने अवस्था देखिएको छ ।
भुमिगत स्रोतबाट आयोजनाको डिजाइन अनुसार नै पानी उत्पादन भएको तर खानेपानी बोर्डले वितरणमा उचित व्यवस्थापन गर्न नसक्दा अभाव यथावत रहेको आवाज धरानवासीबाट उठ्न थालेको छ । खानेपानी व्यवस्थापन बोर्डको अध्यक्ष मेयर हुने प्रावधान रहेकोले धरान उपमहानगरपालिकाका मेयर तिलक राईले नै यसको जवाफदेहिता लिनुपर्ने धरानवासीको माग छ । राई नेपाली काँग्रेसका तर्फबाट मेयर निर्वाचित हुनुभएको हो ।
सुक्खा याममा पम्पिङबाट १ करोड ५२ लाख लिटर र सतह (खोला)बाट ४० लाख गरि १ करोड ९२ लाख लिटर पानी उत्पादन हुने गरेको देखिन्छ । यसले धरानवासीलाई १० देखि १२ बर्षसम्म पर्याप्त हुन्छ भन्ने अनुमान गरिएपनि वितरणमा उचित व्यवस्थापन नहुँदा समस्या भएको उनीहरुको भनाई छ । बोर्डले तत्काल खानेपानी वितरणमा उचित व्यवस्थापन नगरे खानेपानीका लागि पुनः आन्दोलित हुनुबाहेक विकल्प नभएको उनीहरुको चेतावनी छ ।
………………

