पारस खँड्का र सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी
जगत टमाटा दशककै उत्कृष्ट प्रशिक्षक
बागीन्युज संवाददाता
काठमाण्डौ, चैत्र ८ । पारस खड्का (क्रिकेट) र सावित्रा भण्डारी (फुटबल) यस दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् । क्रिकेट प्रशिक्षक जगत टमाटा दशककै उत्कृष्ट प्रशिक्षक घोषित भए ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले आयोजना गरेको १८ औं एनएसजेएफ स्पोर्टस अवार्डमा क्रिकेट राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का पुरुषतर्फ दशककै उत्कृष्ट खेलाडी घोषित भए ।
आज कमलादीस्थित प्रज्ञा भवनमा आयोजना भएको अवार्ड समारोहमा फुटबलर सावित्रा भण्डारी महिला तर्फ उत्कृष्ट चुनिइन् । टमाटालाई उत्कृष्ट प्रशिक्षक घोषणा गरियो ।
घोषित व्यक्तित्वलाई खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले अवार्ड प्रदान गर्नुभएको थियो ।
पछिल्लो दशक नेपाली क्रिकेट टिमले दुई ठूला सफलता हात पारेको थियो । सन् २०१४ मा नेपालले पहिलो पटक टी–२० विश्वकप खेल्दा पारस कप्तान थिए । सन् २०१८ मा नेपालले पहिलो पटक ओडीआई मान्यता पाउँदा पारस कप्तान र पुबुदु दसानाइके प्रशिक्षक थिए । त्यसबाहेक नेपाली क्रिकेटले प्राप्त गरेको हरेक सफलतामा पारस समावेश थिए ।
यस्तै महिला फुटबलले पछिल्लो दशक हात पारेको सफलतामा सावित्रा जोडिएकी थिइन् । उनले दुई पटक साफ च्याम्पियनसिपमा उपविजेता हुँदा एक पटक दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् । यस्तै भारतमा दुई पटक महिला लिगको उपाधिसमेत जितिन् । सावित्राले नेपालका लागि सर्वाधिक ३८ गोल गरेकी छिन् ।
……………….