प्रा.डा.बद्रीविशाल पोखरेल

कला साहित्यका क्षेत्रमा पनि मपाइँवाद ग्रसित देखिन्छ । एक विधा, विषय क्षेत्रमा साधना र सेवा गर्नेले अर्को क्षेत्रलाई पनि समान महत्व नदिने रोग घटेको छैन । यहाँ पनि सामन्तवाद हाबी छ । म पनि बाउ मुरो बाउ पनि बाउ तर बराबरी बाउ हुनै सक्तैन । तर अग्रजलाई यथोचित सम्मान गर्ने भन्दा उसलाई ठेलपेल गर्दै हिड्ने परिपाटी विद्यमान छ । कला साहित्यका उत्थान र विकासमा लेखक, पाठक, प्रकाशक, प्राविधिक सहयोगी, साधक तथा सेवकको  भूमिका महत्वपूर्ण हुन्छ । यसमा पनि बहुआयामिक नेतृत्वको विशेष भूमिका रहन्छ । तर  न आफू पनि नजान्ने र  भनेको पनि नमान्ने संस्कारले घर गरेको छ । कामले काम सिकाउँछ । सिद्धान्तको  बठ्याइँ र कथित विद्वत्ता व्यवहारको कसीमा मात्र बहुआयामिक हुनसकिन्छ । अहिले जसा मञ्च,जन साहित्यिक मञ्च,प्रलेस आदि नाना थरिका नाना भाँतीका उपल्लो र मझौला तहका पदासीन स्रष्टा नेता भरिभराउ छन् तर कामका नाममा सिन्को सम्म भाँचिएको देखिँदैन ।  फराकिलो आकास र आयामलाई आत्मसात् गर्नु प¥यो । नजान्नेले जान्न तयार पनि हुनुप¥यो । कलासाहित्यकारले सधैँ हात थापेर हिड्न पनि जरुरी छैन । अलिअलि हुने खाने स्रष्टाले आफूले गर्ने अन्यान्य खर्च घटाएर वा कटाएर यस क्षेत्रमा आर्थिक र भौतिक सहयोग गर्न नसकिने पनि होइन । हाम्रा नेता जेताका दिमागमा भुस भरिए पनि हामीले हाम्रो सिर र स्वाभिमान उच्च राखेर हिड्यौँ भने हामीलाई तिनले पनि सम्मान नै गर्छन् तर गिदी र गुदीलाई भन्दा पाखुरालाई जहिले तहिले सिरमा राख्दा हामी साह्रै हेपिएका हौँ । यसरी नहेपिने र सामाजिक मान्यतामा सामान्य ठानिने व्यक्तित्वले पनि उदाहरणीय काम गर्न सक्छन् । यस्ता व्यक्तित्व मध्ये परोक्ष रुपमा त्यस्ता बकम्फुसे घमण्डमा रमाउनेलाई सिर्जनात्मक हिसावले व्यङ्य व्यञ्जित गर्ने दुई फरक पहिचानका स्रष्टा र सेवीमा पर्छन् जी.बी.लुगुन र पूर्णबहादुर गुरुङ तथा सरस्वती गुरुङ ।   

लुगुन इटहरीमा कहिले व्यास, वाल्मीकि, कालीदास, भारवि जयन्ती मनाउँछन् । कहिले उनी अच्छा राई रसिक जयन्ती मनाउने तयारीमा हुन्छन् । यो संस्थाको संस्थापक अध्यक्ष लुगुन नै रहेका छन् । यसलाई उनको मौलिकतामा सञ्चालन गरिएको पाइन्छ । समाजले बिर्सिएका महान् स्रष्टालाई स्मरण गरेर कार्यक्रमको आयोजनामा अग्रसरता देखाउने स्रष्टाको नाम हो जि.बि.लुगुन । लुगुनले बैँसालु जीवन लाहुरे जीवन जिए । यसमा अनेक सकसपूर्ण जीवन भुक्तान गरे । जीवनका उकाली र ओरालीका अनेक मोडमा मोडिँदा उनीभित्रको सर्जक व्यक्तित्व प्रस्फुटित हुन थाल्यो । संकटपूर्ण लाहुरे जीवन त्यागेर उनी इटहरीमा स्थायी बसोवास गर्न थाले । लुगुन इटहरीमा बाइस सालदेखि यो रुपा होटेल खोलेर बसे । होटेलका भित्तामा कविता,मुक्तक सजाएका थिए । लुगुनको राई भाषाको लबज र लिबाज मिश्रित नेपाली भाषा एक स्वादको छ । सुरुको उनको स्रष्टा व्यक्तित्वका बारेमा इटहरीका एकाध बुज्रूक ओठ लेप्¥याउँथे । लुगुन सित यस लेखकको लामो संगत रहेको छ । केही काल पहिले उनी जातीयताको भोटो भिर्न निकै मन पराउँथे तर अब उनमा जाति,भूगोल र नश्लीय चेतना निक्कै घटेको छ । उनमा उन्नत चेतना भरिँदैछ । उनी पठन संस्कृतिलाई असाध्यै मायाँ गर्छन् । उनी नयाँ पुस्तालाई पठन र लेखन संस्कृतिमा रमाउन हौसला बढाउँछन् । औपचारिक अध्ययन कम भए पनि किताब,कृति,ज्ञान,ज्ञानी तथा विज्ञ समुदायसितका संगतले उनमा औपचारिक डिग्रीधारी भन्दा ज्ञानमा कम देखिँदैन । उनी धार्मिक सांस्कृतिक विषयका राम्रा अध्येता हुन् । उनी कविता, निबन्ध र लेख लेख्छन् । उनका बोली, बचन र वाचनमा गहकिलो तथा मार्मिक साहित्यिक स्तर पाइन्छ । यो लेखक उनले आयोजना गरेका कार्यक्रममा टाउकाले टेकेर पनि पुग्ने गरेको छ । उनको तँ र तिमी सम्बोधनमा पनि सम्मान र आदर अनुभूत हुन्छ ।

लुगुनको आफ्नै ठूलो आमदानी छैन । केही खेतीपाती र त्यसबाट प्राप्त आम्दानीबाट उनले पाँचलाखको साहित्यिक अक्षयकोष स्थापना गरे । २०७१ बैशाख ६ गते गोर्खा किचेनको सभा कक्षमा लुगुन साहित्य प्रतिष्ठानको गठन गरियो । यसको अध्यक्ष र सचिवमा क्रमश हरिराम भट्टराई र राजन बस्नेत निर्वाचित भएका थिए । जम्मा एघार सदस्यीय समिति र सल्लाहकार समिति पनि गठन गरिएको थियो । यही दिन लुगुनले अक्षय कोषको  घोषणा गरेका हुन् । यस धन राशिमा शुभेच्छुक तथा शुभचिन्तकले एकएक इटा थप्ने हो भने यो यस क्षेत्रको एउटा प्रेरणादायी सर्जक पुरस्कार हुनेछ । यसमा कम्तीमा सुनसरीका नगर पालिकाहरू र जिल्ला विकास जस्ता संस्था लगायत मनकारी व्यक्तित्वहरूले धेरथोर सहयोग गर्ने हो भने सुनमा सुगन्ध हुने छ । जसले कला साहित्यमा लागे बापत केही आर्थिक भौतिक उपलब्धि पाएन,उही गहकिलो आर्थिक लगानी गर्न उद्यत हुनु अनुकरणीय र अनुशरणीय विषय हो ।  जि.बि.लुगुनले सिर्जना सेवा मात्र गरेनन् आर्थिक लगानी समेत गरेर कला,साहित्यको गहकिलो सेवा पनि गरे ।  

यसरी नै धरान १८ निवासी जीवनका रहरलाग्दो बैँस र बसन्त लाहुरे जीवनमा खर्चिएका पूर्णबहादुर र सरस्वती गुरुङका अब एक छोरी,ज्वाइँ र नाति नातिना रहेका छन् । तर उनले पुत्रवियोगको असहनीय पीडा व्यहोर्न बाध्य हुनुप¥यो । यस शोकलाई रचनात्मक शक्तिमा बदल्न उनले आफ्ना सशक्त युवा कवि दिवंगत एकमात्र प्रिय पुत्र विमल गुरुङका स्मृतिमा करोडौँको आर्थिक भौतिक लगानी गरेका छन् । उनले धरान १८ मा विमल स्मृति पुस्तकालय नामको दुईतले भवनको निर्माण गरेका छन् । २०४८ सालदेखि स्थापित यस संस्थाले प्रतिवर्ष कात्र्तिक १९ गते विमलको जन्म दिनमा गोष्ठी,सम्मान,अभिनन्दन तथा राष्ट्रिय युवा कविगोष्ठीमा उत्कृष्ट कविलाई पुरस्कृत गरिन्छ । करीब छ महिना अघि गुरुङ दम्पतिले पचास लाखको अक्षयकोष राखेर त्यसबाट प्राप्त व्याजबाट गहकिलो पुरस्कारको व्यवस्था गर्न लागिएको कुरा पुस्तकालयका सचिव रेवतीरमण राईले बताए । यस संस्थालाई गुरुङ दम्पति छोरालाई जस्तै मायाँ गर्छन् । पूर्णबहादुर बिहान सबेरै देखि पुस्तकालयमा रहन्छन् । छोराको प्रतिमाका अगाडि पछाडि गरिरहन्छन् । यस्तो बेला कवि मनले उनको भित्री हृदय छाम्दा उनी छोराको अतीतलाई बारबार सम्झिरहन्छन् । पहिले पहिले छोराको सम्झनाले निकै भक्कान्निन्थे । अहिले घाउमा खाटा बसेको छ । उनी सबै नेपाली छोरालाई आफ्नै छोरा सम्झेर चित्त बुझाउँछन् । उनलाई हेर्दा,छाम्दा कवितालाई हेरे छामे जस्तो लाग्छ । उनी र उनकी श्रीमतीको भवभंगिमा कलामय,साहित्यमय जस्तो अनुभूति हुन्छ । उनीहरूको मिठो, लयदार र श्रुतिमधुर बोली बचन एउटा कलात्मक कविता हो । आफैँ कवि नभएर के भो त कविताको अथाह मार्मिक भावधारा गुरुङ दम्पतिमा पाइन्छ । उनलाई भेट्ता कविताको स्पर्श भएजस्तो हुन्छ । जीवनभर बन्दुक र बारुद खेलाएका पूर्णबहादुर कला,साहित्य र संगीत तथा पठन संस्कृतिका पूर्ण उत्प्रेरक हुन् । सांस्कृतिक रुपान्तरणमा निकै महान् भूमिका निर्वाह गर्ने यस क्षेत्रको उत्थानमा मरिमेटेर लाग्ने यस्ता स्वनामधन्य सेवीका आधार र उत्प्रेरणामा नै सिर्जनाको व्याड निर्माण गर्न सकिन्छ,अनेकन चिल्लापाते प्रतिभाको जगेर्ना गर्न सकिन्छ । धराने युवा नेता जयकुमार राई विमल स्मृति पुस्तकालय यस क्षेत्रको गहना ठान्छन् । गुरुङ दम्पतिले यो साह्रै सह्राहनीय काम गरेको जयकुमार उल्लेख गर्छन् ।

प्रगतिशील उच्च चेतनाको कलात्मक विम्ब प्रतीकात्मक तथा रमरम बौद्धिकता मिश्रित सशक्त युवा कवि विमल गुरुङ मात्र बीस वर्ष बाँचे  तर भोटो मात्र फटाउनेका लागि उनी निकै ठूला शैक्षिक नमुना हुन् । विमलका नामको पुस्तकालयका माध्यमबाट अनेक कला,साहित्यिक कमल फुलिरहेका छन् । यस्ता फरक पहिचानका यो क्षेत्रका विशिष्ट साधक र सेवीलाई सहस्र साधुवाद तथा कृतज्ञता अर्पित गर्दछु । 

……………

Facebook Comments Box