हनुमाननगर कंकालिनी नगरपालिकाका शिक्षक-कर्मचारीहरू तलबको माग गर्दै धर्नामा
उत्तम आचार्य कञ्चनरूप/सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका भित्रका शिक्षक-कर्मचारीहरू तलबको माग गर्दै नगरपालिका कार्यालय अगाडि आइतबार धर्नामा बसेका छन् ।
दशै, तिहार जस्तो चाडबाडमा तलब नपाउँदा आफूहरूले लामो समयदेखि यस्तो समस्या भोग्दै आएको र सम्बन्धित निकायले कुनै ठोस कदम नचालेको उनीहरूले गुनासो गरेका छन् ।
चार महिनादेखि बिना तलब काममा खटिएको र दशैं, तिहार, छठ जस्तो महत्वपूर्ण चाडपर्वका बेला समेत तलब नपाउँदा जीवनयापन धान्न संकट उत्पन्न भएकोले धर्नामा बस्न बाध्य भएको शिक्षक, कर्मचारी आन्दोलन परिचालन समितिले जनाएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिकाभित्रका ३० ओटा विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीहरूले प्रचलित नियम अनुसार तलबभत्ता नपाएको गुनासो गर्दै कात्तिक ६ गते नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए ।
आन्दोलन परिचालन समितिले नगर प्रमुख बिरेन्द्र कुमार माझी र प्रमुख प्रशासकीय अधिकृत किशोर कुमार रामलाई छुट्टाछुट्टै ज्ञापन–पत्र बुझाएका थिए ।
नेपाल सरकारले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीको तलब, भत्ता बैंकमार्फत भुक्तानी गर्न निर्देशन दिएर पत्राचार गरे पनि नगरपालिकाले कार्यान्वयन नगरेको उनीहरूको आरोप छ ।
चाडपर्वको समयमा पनि तलब नपाएर आफ्ना सन्तानलाई नयाँ कपडा र मिठो खान दिन नसक्दा मर्माहत भएको आन्दोलन परिचालन समितिका संयोजक नगरपालिकाका शिक्षा अधिकृत हरीनारायण साहले बताए ।
नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई पटक–पटक अनुरोध गर्दा पनि सुनवाई नभएपछि बाध्य भई आन्दोलनको बाटो रोज्नु परेको महाविर माध्यमिक विद्यालय हनुमाननगरका शिक्षक मौसम बञ्जाराले बताए ।
“शिक्षण क्षेत्रलाई सम्मानजनक बनाउन हाम्रो नियमित पारिश्रमिक र अन्य सुविधाहरू उपलब्ध गराउनु आवश्यक छ,” उनले भने, “हाम्रो परिवारको आर्थिक स्थिति यसले प्रत्यक्ष रूपमा प्रभावित पारेको छ।”
नगर परिषद् नभएकै कारण देखाई हनुमाननगर कंकालिनी नगरपालिकाले शिक्षा, स्वास्थ्य क्षेत्र र स्थानीय तहका कर्मचारीहरूलाई साउनदेखि तलब, भत्ता दिन सकेको छैन् ।
तलब नपाउँदा १ सय ५० शिक्षकहरू पीडित बनेको भन्दै शिक्षक बञ्जाराले विद्यालयको पठनपाठन बन्द भएमा १ हजार ५ सय घरका बालबालिका प्रभावित हुने जानकारी दिए ।
धर्नामा उपस्थित शिक्षक-शिक्षिकाहरूले नगरपालिका प्रशासनलाई तत्काल समस्याको समाधान गर्न र बक्यौता तलब तथा चाडपर्व खर्च उपलब्ध गराउन माग गरेका छन्। उनीहरुले शिक्षकहरूले यो समस्या लामो समयसम्म रहिरहेमा थप आन्दोलनका कार्यक्रम घोषणा गरी सशक्त संघर्षमा उत्रिने चेतावनी दिए ।
नगरपालिका नगर प्रमुख विरेन्द्रकुमार माझीले नगर परिषद् नभएको कारण तलब वापतको रकम दिन ढिला भएको बताए ।