सप्तरीको राजविराज विमानस्थलबाट रात्रिकालीन उडान सुरु
यो सँगै रात्रिकालीन उडान हुने विमानस्थलको संख्या १० पुग्यो
उत्सव आचार्य /
कञ्चनरूप, १ पुस । सप्तरीको राजविराज विमानस्थलबाट आजदेखि रात्रिकालिन उडान सुरु भएको छ । बुद्ध एयरले दैनिक दिउँसो एउटा उडान गर्दै आएकोमा पूर्वाधार तयारीसंगै बुद्ध एयरले नै रात्रीकालिन उडान समेत सुरु गरेको हो ।
संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितीमा बुद्ध एयरले परीक्षण उडान गरेको छ ।
रात्रिकालीन उडानको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राजविराजमा रात्रिकालिन सेवा सुरु भएसँगै यसले पर्यटन र समग्र अर्थतन्त्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
राजविराज विमानस्थल कार्यालयका अनुसार लाइटिङसहित भौतिक पूर्वाधार र प्राविधिक रूपमा विमानस्थल रात्रिकालिन उडानका लागि तयार भएको छ । रात्रीकालिन उडानका लागि सोमबार साँझ बुद्ध एयरले परिक्षण उडान समेत गरेको छ ।
यो सँगै रात्रिकालीन उडान हुने विमानस्थलको संख्या १० पुगेको छ ।
राजविराज विमानस्थलमा २०७६ माघ १८ देखि बुद्ध एयरले दैनिक नियमित उडान गर्दै आएको हो । बुद्धको ७२ सिटे जहाज दैनिक रूपमा दिउँसो काठमाडौंबाट यात्रु लिएर राजविराज उत्रने र यहाँबाट यात्रु लिएर काठमाडौं फर्किने गरेको छ ।