नाटक ‘बन्द बाक्सा’ प्रदर्शन चैत्र २७ गतेबाट
धरानको रङ्गमञ्चलाई निरन्तरता दिने प्रयास
बागीन्युज संवाददाता
धरान, चैत्र २५ । लामो इतिहास बोकेको धरानको रङ्गमञ्च विभिन्न कारणले सुस्ताउँदै गएको बेला केही युवाहरुले यसलाई निरन्तरता दिँदै आएका छन् । यस्तै युवाहरुको संस्था हो रङ्गभूमि एकेडेमी । यसै संस्थाको प्रस्तुती रहेको नाटक ‘बन्द बाक्सा’ चैत्र २७ गतेबाट धरानमा प्रदर्शन शुरु हुने भएको छ ।
आर्थिक तथा भौतिक समस्या, कलाकारहरुको पलायन, कोरोना महामारी लगायत कारणले लामो समय ठप्प रहेको धरानको रङ्गमञ्च फेरि एकपटक मुर्झाउने भएको छ । केही वर्ष अघि ‘इङ्घङ’ नाटक प्रदर्शन गरेर निकै वाहवाही कमाएको यस संस्थाले नयाँ प्रस्तुतीको रुपमा ‘बन्द बाक्सा’लाई एकहप्तासम्म प्रदर्शन गर्ने भएको हो । नाटकको लेखन तथा निर्देशन युवा नाट्यकर्मी मिलन चाम्लिङ राईको रहेको छ ।
नाटकमा वैदेशिक रोजगारीमा गएका नेपालीका परिवार र नेपाली समाजले व्यहोर्नु परिरहेको बाध्यात्मक परिवेशलाई चित्रण गरिएको निर्देशक चाम्लिङले जानकारी दिनुभएको छ । उहाँले यसअघि लीलबहादुर क्षेत्रीको उपन्यास ‘बसाईँ’ को नाट्य रुपान्तरणको निर्देशन गरिसक्नुभएको छ । उक्त नाटक धरानको सदन सभाहलमा प्रदर्शन गरिएको थियो ।
धरान–१० स्थित सैनिक भवनमा बैशाख ३ गतेसम्म नाटक मञ्चन हुनेछ । नाटकको व्यवस्थापन तुलसा थापा, सन्देश दाहाल र अस्मिन सुवेदीले गर्नुभएको छ । नाटकमा हरि इवाहाङ लिम्बु, सम्झना राई, रमिता राई, बिशाल नाल्बो, उदिप इवाहाङ, एसिका राई, दिपेन्द्र राई, बलबहादुर राई, सपना तामाङ, प्रीया राई र इन्द्र राई लगायत कलाकारहरुको अभिनय रहनेछ । एक घण्टा २० मिनेट अवधिको उक्त नाटक दैनिक बेलुकी ४ः३० बजेदेखि प्रदर्शन हुनेछ । संस्थागत प्रदर्शन सम्बन्धित संस्थासँगको समन्वयमा अन्य समयमा पनि गरिनेछ । यसका लागि विभिन्न कलेज, स्कुल सहित विभिन्न संस्थाहरुलाई पत्राचार गरिएको छ । टिकट शुल्क ३ सय र २ सय तोकिएको निर्देशक चाम्लिङले जानकारी दिनुभयो । नाटक मञ्चनको अन्तिम तयारी भईरहेको उहाँले जानकारी दिनुभयो ।
तस्विर मिलन चाम्लिङ राईको फेसबुक
……………