अन्य दिन झैँ कार्यालयको काम सकेर धरानको भानुचौक आई विराटनगर जाने बस चँढेँ । बसमा सदा झैँ कोचाकोच यात्रु थिए । म चालकको देब्रेपट्टीको लामो सिटमा बसेँ । बस ओरालो अघि बढ्यो । बसमा गीत बजिरहेको थियो । केही समयपछि गीत फेरियो । त्यो पनि नभएपछि अर्कै गीत बज्न थाल्यो । यसरी नै आफुलाई मन पर्ने गीत ट्युनिङ गर्ने क्रम चलिरह्यो । एकछिनमा एउटा गीतमा ट्युनिङ अडियो । यही क्रममा थाहा भयो गीत चालकको मोबाइलबाट ब्लुटुथमार्फत बजिरहेको रहेछ । चालकले एकहातले स्टेयरिङ र अर्को हातले मोबाइलमा गीत खोज्दैरहेछन् ।

बरगाछीतिर पुग्दा त्यही मोबाइलमा फोन आयो र चालकले एकहातले फोन उठाए । उताबाट महिलाको आवाज सुनियो । घरायसी कुरा गरेको सुन्दा श्रीमतिको फोन भन्ने स्पष्ट भयो । उनले फोनमा विवाद गरे र च्याँठिदै फोन काटे । बस अघि बढ्यो । फोन विवादको तनावले चालकलाई प्रभाव पार्ने हो कि भन्ने शंका लागीरहेको थियो ।

तीनकुने कटेपछि फेरि एकहातले स्टेयरिङ समाएर फोन हातमा लिए । साँझ परिसकेको थियो । बसको लाइटमा पनि समस्या रहेछ, बाटो स्पष्ट देखिएको थिएन । फोनमा कुन्नि के गर्न खोज्दै थिए, निर्माणाधिन सडकको छेउमा भएको केही अग्लो ढलाई देखेनछन् । बस त्यो ढलाईमा चढीहाल्यो । कोल्टियो । त्यतिखेरै अगाडीबाट एउटा बाइक हुईय आएर झण्डै ठोक्कियो । कसो, कसो चालकले बस नियन्त्रण गरे र पल्टिएन । बाइकसँग पनि ठोक्किएन तर यात्रुहरुको भने होश उडीसकेको थियो ।

चालकका लागि बनाइएका मापदण्ड र नियमहरुको गम्भिरतापुर्वक पालना नहुँदाको परिणाम हो यो । हुन त हाम्रो समाज पाइलटलाई हाई हाई गर्ने तर चालकलाई ड्राइभर भनेर हेला गर्ने सोँचबाट ग्रसित छ तर चालकको पनि जिम्मेवारी पाइलटको भन्दा कम छैन । चालकका लागि पनि विशेष नियमहरु बनेकाछन् जसले यात्रा र सवारीको सुरक्षामा ग्यारेन्टी गर्छ तर त्यसको पालनामा न त राज्य गम्भिर छ न त चालक आफै । राज्यले पाइलटलाई भगवान मानिरहँदा चालकलाई बेवास्ता गरिरहेको परिणाम हुन् यी । चालकलाई नियमको रुपमा सवारी चालक लेखिएको ज्याकेट लगाउने बाहेक केही पालना भएको देखिँदैन । बनेका नियमहरुलाई पालना गराउन राज्यले दण्ड सजायको कडाइका साथ व्यवस्था गर्ने र चालक आफैले पनि नियम पालनालाई आफ्नो कर्तव्य ठाने दुर्घटनाको कुनै गुन्जायस हुँदैन ।

सवारी चलाउँदा मोबाइल प्रयोग गर्न हुँदैन भन्ने सन्देश त ट्राफिक प्रहरीले माइकिङ वा सञ्चारमाध्यम मार्फत प्रसारण गरेको गरेकै छ तर त्यसलाई कडाइ र अनिवार्यताका साथ लागु गरेको पाइदैन । आगामी दिनमा सवारी चलाउँदा मोबाइल फोन प्रयोग मात्र होइन, चालकको गोजीमै मोबाइल राख्न निषेध गर्नुपर्ने देखिन्छ । त्यतिमात्र होइन, स्टेयरिङ समाउनु अघि सवारी साधनको उचित चेकजाँज गर्ने देखि लिएर चालकको मानसिक र शारिरिक स्वास्थ्यको पनि जाँच हुनु अति जरुरी देखिन्छ ।

यो नियम बस चालकका हकमा मात्र होइन, कुनैपनि सवारी चालक अझ साइकल चालकलाई समेत लागु गर्ने गरी नियम बनाई कडाईका साथ लागु गरिनुपर्दछ । किनभने साइकल भन्दैमा नजरअन्दाज गर्न मिल्दैन । साइकलकै कारण भयानक दुर्घटना हुने गरेको उदाहरणहरु थुप्रै छन् । चालकको जिम्मामा अन्य थुप्रै जीवनहरु आश्रित छन् भन्ने बुझ्नु अति जरुरी छ ।
०७८ चैत्र ९
…………….

Facebook Comments Box