सप्तकोसी/सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुर बाट नेपाल तामाङ घेदुङ जागरण तथा ल्होछार साँस्कृतिक अभियान बिहिवार देखि शुरु भएको छ।

नेपाल तामाङ घेदुङ सप्तरीले जिल्लाका स्थानीय तहमा संचालन गरेको ल्होछार जागरण अभियान बिधिवतरुपमा  सुरु भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सप्तरीद्वारा संचालित तामाङ जागरण तथा ल्होछार साँस्कृतिक अभियान सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरबाट शुरु भएको छ । नेपाल तामाङ घेदुङ सप्तकोसी नगरपालिकाका उपाध्यक्ष डम्बर बहादुर जिम्बा तामाङको अध्यक्षतामा विहिबार आयोजित एक समारोहका वीच नेपाल तामाङ  संघीय सदस्य भिम घिसिङले मैनबत्ति बालेर उद्घाटन गरे ।                                                            जागरण अभियान उद्घाटन गर्दै संघीय सदस्य घिसिङले लामो समयसम्म ल्होछार पर्व मनाउदै आएपनि अहिलेसम्म तामाङ समुदायको घरमा भित्र्याउन नसकिएकोले यसको औचित्यता र आवश्यकता बारे सचेतना जगाउने उदेश्यले अभियानकै रुपमा अगाडि बढाइएको बताए ।  उनले अभियानलाई सार्थकता दिन जिल्लाबासी तामाङलाई सक्रियता पूर्वक अभियानमा जुट्न आग्रह गरे ।                                                                           नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशका महासचिव बृजमान तामाङले देशमा मनाइने अन्य चाडवाड जस्तै तामाङ समुदायले मनाउने ल्होछार पर्वलाई समेत स्थानीय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । अभियानको उदेश्य बारे प्रकाश पार्दै उनले ल्होछार मनाउन राज्यबाट भेदभाव हुँदै आएकाले ल्होछार पर्वको प्रबर्द्धन र विकासका लागि तीनै तहको सरकारको ध्यानाकर्षण गराउने अभियानको मुख्य लक्ष रहेको उल्लेख गरे । उनले अभियानले तामाङ समुदायको संस्कृति संरक्षण, सम्बर्द्धनकोसाथै राष्ट्रिय एकतामा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

अभियान अन्तर्गत साँस्कृतिक कार्यक्रम तथा ल्होछार पर्व सम्बन्धि अभियानताहरुले विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको घेदुङ सप्तरीका अध्यक्ष सुर्यमान सिंदन तामाङले बताए ।                 तामाङ समुदायको प्रमुख साँस्कृतिक पर्व २८६१ औं सोनाम डुल ल्होछार ( सर्प) बर्ष माघ १७ गते परेको हुँदा तामाङ समुदायलाई ल्होछारको विशेषता र महत्व बारे जनजागरण गराउने उदेश्यले ल्होछार साँस्कृतिक जागरण अभियान संचालनमा ल्याएको उनले जानकारी दिए

अध्यक्ष तामाङका अनुसार पुस १८ गते सप्तकोशी नगरपालिकाबाट सुरु भएको अभियान २९ गते सुरुङ्गा नगरपालिका २ स्थित बाउन्न कोल्टेमा पुगेर समापन हुने छ ।

अभियान अन्तर्गत पुस १९  गते कञ्चनरुप नगरपालिका, पुस २० गते अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ मोहनपुर, २२ गते अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ चाँदनी बजार , पुस २४ गते रुपनी गाउँपालिका, पुस २५  गते शम्भुनाथ नगरपालिका, पुस २६ गते राजविराज नगरपालिका, पुस २७ गते खडक नगरपालिका, पुस २९ गते सुरुङ्गा नगरपालिकामा अभियान संचालन हुने अध्यक्ष तामाङले बताए ।                                                     सप्तकोसी नगरपालिका १ स्थित साङ्ग छोलिङ्ग गुम्बा प्राङ्गणमा आयोजित जागरण अभियान उद्घाटन समारोहमा घेदुङका पूर्व केन्द्रीय सदस्य खड्ग बहादुर तामाङ,जिल्ला उपाध्यक्ष जनक बहादुर बम्जन, सरिता योन्जन, जिल्ला सह सचिब तिर्थ बहादुर मोक्तान, जिल्ला सदस्य अशोक कुमार योन्जन, लगुमाया तामाङ, प्रेम स्याम्बो तामाङ , सीता बम्जन तामाङ, नेपाल तामाङ ताम्बा घेदुङका केन्द्रीय सदस्य जित बहादुर गोले,नेपाल तामाङ साँस्कृतिक घेदुङ सप्तरीका अध्यक्ष टिक बहादुर तामाङ, कञ्चनरुप नगरपालिकाका अध्यक्ष चतुरमान तामाङ, अग्नीसाइर कृष्णासवरन अध्यक्ष भक्त बहादुर तामाङ, रुपनी गाउँपालिकाकी अध्यक्ष भद्र कुमारी लामालगायतका विभिन्न स्थानीय तहका अध्यक्षहरु तथा तामाङ अगुवाहरुको उपस्थिति रहेको थियो । नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत  पूर्व जिल्ला सदस्य एजेट न्यासुरले गरेका थिए ।

Facebook Comments Box