पत्रकारको हत्यारालाई कार्बाहिको माग गर्दै सप्तरीका पत्रकार आन्दोलित

सप्तकोसी / राजसंस्था पुर्नस्थापनाको माग गर्दै गरिएको राजावादीको आन्दोलनमा समाचार संकलन गर्दै गरेका पत्रकार शुरेश रजकलाई जीउदै आगो लगाएर हत्या गर्ने हत्यारालाई कारबाहीको माग गर्दै सप्तरीका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाको आयोजनामा पत्रकारको हत्यारालाई कार्बाहिको माग गर्दै सप्तरीको राजबिराज शनिबार विरोध प्रदर्शन गरिएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाको कार्यालयबाट निकालिएको विरोध र्याली राजविराज नगरपालिका परिक्रमा गरि (जनआन्दोलन चौक) सहिद दशन चौकमा पुगेर समापन भएको थियो ।
पत्रकारको हत्यारालाई कारबाही गर, अराजकता अन्त्य गर, प्रेस स्वतन्त्रता कायम गर,पत्रकारलाई लेख्न र बाँच्न देउ लगायतका नारा लेखिएका प्लेकार्डसहित पत्रकारहरुले विरोध प्रदर्शन गरेका थिए ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले पत्रकार रजकको हत्यारालाई पक्राउ गरि अविलम्ब कारबाही गर्न माग गरे गर्दै पत्रकार रजकको हत्यारालाइ पत्ता लगाई कारबाहीको दायरामा नल्याईएसम्म महासंघले आन्दोलन जारी राख्ने बताउँदै उनले शान्तिपूर्ण संघर्षको कार्यक्रमबाट सुनुवाइ नभए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।
अध्यक्ष देवको नेतृत्वमा रहेको विरोध र्यालीमा सप्तरी जिल्लामा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।
महासंघले आन्दोलन स्वरुप आइतबार सप्तरीका सम्पुर्ण पत्रकार हातमा कालोपट्टी बाधेर समाचार संकलन लगायत कामकाज गरिने महासंघ अध्यक्ष श्रवणकुमार देबले बताए ।
राजसंस्था पुर्नस्थापनाको माग राख्दै काठमाडौंमा शुक्रबार भएको हिंसात्मक आन्दोलनमा पत्रकारको मृत्यु भएपछि शनिबार देशभरका पत्रकार आन्दोलित छन् । नेपाल पत्रकार महासंघको नेतृत्वमा देशभर संचारकर्मी र संचारगृहमाथि भएको आक्रमणको विरोध कार्यक्रम गरिएको छ ।
७०औं स्थापना दिवस मनाउने तयारी गरेको नेपाल पत्रकार महासंघले अन्तिम समयमा कार्यक्रमको स्वरुप फेर्दै विरोध कार्यक्रम गर्ने निर्णय गरेको थियो । सोही कार्यक्रमअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा विरोधका कार्यक्रम सम्पन्न भएका छन् ।