कक्षा १२ को परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार वैशाख ११ देखि हुने

सप्तकोसी /कक्षा १२ को वार्षिक परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार २०८२ साल वैशाख ११ गतेदेखि सुरु हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परिक्षाको बिषयलाइ लिएर सामाजिक सञ्जाल तथा केहि अनलाइनहरुले ‘शिक्षक आन्दोलनका कारण परीक्षा स्थगित भएको’ भन्ने भ्रामक सूचना फैलिएकोप्रति बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।परिक्षा बोर्डले एक विज्ञप्ति जारी गर्दै परीक्षा स्थगित भएको भन्ने सूचना पूर्णरूपमा झुटो र भ्रामक रहेको स्पष्ट पारेको छ । ‘कक्षा १२ को वार्षिक परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार यही २०८२ साल वैशाख ११ गतेबाट सञ्चालन हुने भएकाले कुनै प्रकारको भ्रममा नपर्नुहुन सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालासँग अनुरोध गर्दछौं,’ बोर्डले बिज्ञाप्तिमा उल्लेख गरेको छ ।
बोर्डका अनुसार सामाजिक सञ्जालमा प्रसारित भ्रामक सूचनामा बोर्डको लेटरप्याड प्रयोग गरी अध्यक्षको ‘नक्कली हस्ताक्षर’ राखिएको भेटिएको छ । यसप्रकारको कार्यलाई गम्भीर आपराधिक गतिविधिको रूपमा लिँदै बोर्डले साइबर कानुनअनुसार दोषीमाथि कानुनी कारबाही प्रक्रिया सुरु गरिसकेको जनाएको छ ।

‘परीक्षा जस्तो संवेदनशील विषयमा अनधिकृत सूचना सम्प्रेषण गरेर हजारौं विद्यार्थीको मानसिक स्वास्थ्य र भविष्यसँग खेलबाड गर्ने यस्ता कार्यलाई सहन सकिन्न,’ बोर्डले जनाएको छ ।
परिक्षा बोर्डले कक्षा १२ को परीक्षालाई सफल र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि शिक्षक, प्रधानाध्यापक तथा अभिभावकहरूलाई समन्वय र सहकार्य गर्न हार्दिक अनुरोध गरेको छ । परीक्षा केन्द्र व्यवस्थापन, अनुगमन तथा समन्वयका लागि स्थानीय तहका शिक्षा शाखा, विद्यालयहरू र सम्बन्धित निकायहरूलाई पूर्ण तयारीमा जुट्न पनि बोर्डले आग्रह गरेको छ ।

बोर्डले विद्यार्थीहरूलाई आधिकारिक सूचना बाहेक अन्यत्रबाट आएका समाचार र सूचनाप्रति सतर्क रहन तथा भ्रममा नपर्न आग्रह गरेको छ । बोर्डको आधिकारिक वेबसाइट तथा सूचना प्रणालीबाट मात्र सूचना लिने बानी बसाल्न विद्यार्थीहरूलाई अनुरोध गरेको छ।