कञ्चनरूप, २६ वैशाख । मधेस प्रदेशको सुरक्षा समन्वय समितिको बैठक आज सम्पन्न भएको छ । मधेस सरकारको गृह,सञ्चार तथा कानून मन्त्रालयमा गृहमन्त्री राजकुमार लेखीको अध्यक्षतामा शुक्रबार विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै बैठक सम्पन्न भएको हो ।

गृह मन्त्री लेखीले भन्नुभयो “कुनै पनि हालतमा आतंककारी गतिबिधिको लागि हाम्रो भूमि प्रयोग हुन दिनु हुँदैन तसर्थ सबै सुरक्षा निकाय एलर्ट रहनु पर्छ”।

 मन्त्री लेखीले काश्मिरको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित भारत–पाकिस्तान घटनाक्रमलाई मध्यनजर गर्दै नेपाली भूमिबाट आतंकवादी संगठनहरुले आपराधिक गतिविधि गर्न सक्ने भएको हुँदा प्रदेशका चार वटै सुरक्षा निकायलाई त्यस्ता गतिविधिको निगरानी गर्न निर्देशन दिनुभएको छ ।

                       मन्त्री लेखीले सिमा सुरक्षा, लागुऔषध दुर्ब्यबसन, बिपद ब्यबस्थापन लगायत सिमा सुरक्षा जस्ता प्रदेशका संवेदनशील सुरक्षा मुद्दाहरुलाई प्रभावकारी रुपमा कार्यसम्पादन गर्न समेत निर्देशन दिनुभयो ।

गृह मन्त्री लेखीले सरुवा भइ मधेस प्रदेश आउनु भएका मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमा प्रसाद चतुर्वेदी र सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुखको रुपमा सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाललाई दोसल्ला ओढाएर स्वागत समेत गर्नुभएको छ ।

    बैठकमा मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मदन भुजेल, प्रदेश सचिव बिमल प्रसाद बराल, धनुषाको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिजाल, नेपाली सेना मध्यपुर्वी पृतना हेडक्वाटर बर्दिबासका सहायक रथी भुवन खत्री, मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक उमा प्रसाद चतुर्वेदी,सशस्त्र प्रहरी २ नं.बाहिनीका प्रहरी नायब  महानिरीक्षक कृष्ण ढकाल ,राष्ट्रिय अनुसंधान मधेस प्रदेश कार्यालय जनकपुरधामका निर्देशक माधव प्रसाद तिमिल्सिना सहित प्रदेश तथा धनुषा जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box