सप्तरीमा मदन–आश्रित स्मृतिमा फलफूल वितरण तथा रक्तदान कार्यक्रम

• उत्सव आचार्य
कञ्चनरूप, जेठ ३ गते । सप्तरीमा विभिन्न कार्यक्रम गरी नेकपा एमालेले ३२ औँ मदन–आश्रित स्मृति दिवस मनाएको छ ।

नेकपा (एमाले) सप्तरीले ३२ औँ मदन–आश्रित स्मृति दिवसको दिन राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा बिरामीहरुलाई फलफूल वितरण गरेर स्मृति दिवस मनाएको हो ।
नेकपा (एमाले) जनसगठन समन्वय समीती सप्तरीको आयोजनामा मदन–आश्रितको योगदानको स्मरण गर्दै एमालेका पोलिटव्युरो सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल , नेकपा एमालेका केन्द्रीय सदस्य तथा मधेस प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी लगायतका नेता कार्यकर्ताहरुले अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गर्दै स्मृति दिवस मनाइएको नेकपा एमाले सप्तरीका अध्यक्ष ताराकान्त चौधरीले जानकारी दिनुभयो ।

त्यसैगरी मदन–आश्रित स्मृति दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको छ ।
कार्यक्रममा सहभागीहरूले जननेता मदन भण्डारीका विचारका सान्दर्भिकतालाई बुझ्न आजको आवश्यकता रहेको बताउनु भएको छ । मदनको मार्गमा हिँडेमात्र मुलुकको हित हुने कार्यक्रममा सहभागीहरूको भनाइ रहेको थियो ।
मधेस प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले मानव सेवाका कार्यहरूमा निरन्तर जुटिरहने प्रतिबद्धता व्यक्त गर्दै यस्तो अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पोलिटव्युरो सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज सुमनराज प्याकुरेलले यस प्रकारका कार्यक्रममार्फत जनताको पीडामा साथ दिँदै समाजमा मानवीयता र सहानुभूतिको सन्देश प्रवाह गर्नु वर्तमान नेतृत्वको प्रतिबद्धता हो भन्ने स्पष्ट सन्देश जनसमक्ष पुर्याइएको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले सप्तरी जिल्ला अध्यक्ष ताराकान्त चौधरी, उपसचिव दुर्गानन्द ठाकुर, जिल्ला कमिटीका सदस्यहरु लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।