सप्तकोसी/प्रधानमन्त्री केपि शर्मा ओलीले मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको योजना अनुरुप एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत एकै दिन ६४ वटा कालोपत्रे सडकको आइतबार जनकपुरधाममा डिजिटल शिलान्यास गरेका छ्न।

प्रधानमन्त्री ओलिले मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको योजना अनुरुप एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत मधेस प्रदेशमा निर्माण हुने प्रदेशका ६४ निर्वाचन क्षेत्रमा ३२० किलोमिटर कालोपत्रे सडकको एकै साथ शिलान्यास गरेका हुन।
शिलान्यास कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश प्रदेशमा विकासको कामलाई तीव्र गतिमा लैजाने योजना सहित कालोपत्रे सडकको शिलान्यास गरिएको बताए ।
प्रधानमन्त्रीले शिलान्यास भएको मधेश प्रदेशका ६४ निर्वाचन क्षेत्रमा बन्ने ३२० किलो मिटरको कालोपत्रे समयमा र गुणस्तरीय रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे।

प्रधानमन्त्रीले मुलुकमा सङ्घीयता आएपछि जनताको विकासको चाहना पुरा हुन थालेको बताउँदै विकासको काममा थप गति दिनका लागि तीनै तहका सरकारका बीचमा अधिकतम समन्वय तथा सहकार्यको खाँचो भएको बताए ।
प्रधानमन्त्री ओलीले मधेश प्रदेशको समृद्धिका लागि सुनकोशी मरिन डाईभर्संनको काम समयमा निर्माण हुनु पर्नेमा ठेकेदारको लापरबाहीका कारणले ढिलाई भएर मूल्य बढाउने काम मात्र भइरहेकोले ठेक्काको सम्झौता तोडेर भए पनि छिटो सम्पन्न गर्नु पर्ने बताए । सरकार सुनकोशी मरिन कमला डाईभसर्नको योजना पनि चाडै बढाउने पक्षमा रहेको बताएका छ्न।

प्रधानमन्त्री ओलिले जनकपुर–जयनगर रेल सेवालाई बर्दिबाससम्म विस्तार गरेर पूर्व पश्चिम विद्युतीय रेल मार्गसँग जोड्ने गरि काम अगाडी बढाउने काम भएको बताउँदै यो रेल मार्गको निर्माण भएपछि देशको समग्र विकासमा ठूलो टेवा पुग्ने आशा व्यक्त गरे।

प्रधानमन्त्री ओलीले जनकपुरधाम सभ्यता, संस्कृति तथा ज्ञान विज्ञान उद्गम स्थलको रुपमा रहेको बताउँदै अहिले मधेश प्रदेशमा शिक्षा, स्वास्थ्य तथा जनचेतनाको स्तर तल झर्नु चिन्ताको विषय भएकाले शिक्षा स्वास्थ्य जस्ता बिषयमा तिनै तहको सरकार गम्भीर बन्नु पर्ने बताए ।
कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेश सरकारको गौरवको योजनाको रुपमा रहेको प्रत्येक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गतको सडकको निर्माण समयमा र गुणस्तरीय रुपमा सम्पन्न हुने बताए ।
१२ अर्ब ७० करोडको लागत रहने कालोपत्रे सडक मधेश प्रदेश सभाको ६४ निर्वाचन क्षेत्रमा पाँच किलोमिटरका दरले तीन वर्षमा पुरा गरिने भएको छ ।

Facebook Comments Box