उत्सव आचार्य

कञ्चनरूप, ८ असार । सप्तरीमा आज बिहान दुई वटा  मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

दुर्घटनामा शम्भुनाथ नगरपालिका वडा नम्बर ११ राजपुर बस्ने वर्ष १९ को अविनाष मण्डल र कञ्चनरुप नगरपालिका–१ बैरवा निवासी ३४ वर्षीय ओम प्रकाश पंजियारको मृत्यु भएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवा जाने बाटोको भित्री सडकखण्डमा कंकालिनी मन्दिरबाट भलुवा जाँदै गरेको को १० प ५६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल चालक अविनाष मण्डल गम्भीर घाइते भई गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

त्यस्तै को १० प ५६२ नम्बरको मोटरसाइकल चालक ओम प्रकाश पंजियारको पनि बिराटनगरको न्युरो अस्पतालमा उपचारको क्रममा बिहान ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

उक्त मोटरसाइकलमा सवार अर्का कञ्चनरुप–१ बैरवाका ३० वर्षीय सुभाष महतो घाइते भएका छन् । उनको खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख डिएसपि माधव प्रसाद काफ्लेले जानकारी दिनुभएको छ । उनलाई पनि उपचारका लागि बिराटनगर लगिएको डिएसपी काफ्लेले बताउनुभयो ।

दुबै मोटरसाइकल हाल प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box