आज आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती


कञ्चनरूप । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २१२ औँ जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदै छ ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।


संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गरेका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पढेको पाइन्छ ।
‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । त्यसबाहेक उनका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यलयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेको ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली ।’ चर्चित छ ।




